aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

स्वीकृति पाएन विराटनगर विमानस्थलको डीपीआरले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
स्वीकृति पाएन विराटनगर विमानस्थलको डीपीआरले

विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश १ का पर्यटन व्यवसायी आन्दोलित भएका छन् ।

विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीहरुले डेढ दशकभन्दा लामो समयदेखि माग गर्दै आएका थिए ।


प्रदेश सरकारले समेत यो विमानस्थललाई उच्च प्राथमिकतामा राखेको थियो । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले समेत सार्वजनिक समारेहहरुमा क्षेत्रीय अन्तराष्ट्रियस्तरको विमानस्थल बनाउने बताउँदै आएका थिए । तर डीपीआर नै अस्वीकृत भएपछि प्रदेश सरकारसमेत आश्चर्यचकित भएको छ । 

तत्कालीन पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले समेत विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने बताएका थिए । उनले विराटनगरका पर्यटन व्यवसायीसँग छलफल गरेर आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाउन मोरङ प्रशासनलाई निर्देशनसमेत दिएका थिए ।

मन्त्री अधिकारीको निधनपछि कर्मचारीहरूले चलखेल गरेका कारण डीपीआर अस्वीकृत भएको यहाँका पर्यटन व्यवसायीको बुझाइ छ । “काठमाडौंका पर्यटन माफियाका कारण कर्मचारीले विराटनगरको डीपीआर अस्वीकृत गरेका हुन् हाम्रो बुझाइ छ,” पर्यटन व्यवसायी पुण्य भट्टराईले भने, “काठमाडौंका व्यवसायी बाहिर अवसर नजाओस् भन्ने चाहन्छन् । डीपीआर अस्वीकृत हुनुमा कतै न कतै उनीहरूको पनि हात छ। 'प्रदेश-१ का उद्योगी, व्यवसायीले भट्टराईकै संयोजकत्वमा ५१ सदस्यीय विराटनगर विमानस्थललाई क्षेत्रीय' अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाऊ संघर्ष समिति गठन गरेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।
 

प्रतिक्रिया दिनुहोस