उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १३ स्थित लक्ष्मीपुर माध्यमिक विद्यालय पोर्ताहाले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्णको प्रमाणपत्र लागी पाँच हजार रुपैयाँ शुल्क असुल्ने गरेको पाइएको छ। सरकारी विद्यालयले विद्यार्थीबाट शुल्क असुलेको भन्दै सरोकारवालाले गुनासो गरेका छन् ।
सामान्यतया सामुदायिक विद्यालयहरूले एसइईको सर्टिफिकेटका लागि पाँच सयदेखि दुई हजार रुपैयाँसम्म लिने गरेका छन् । तर, कुमार कार्की विद्यालयका प्रधानाध्यापक रहेको यो विद्यालयले अभिभावक र विद्यार्थीको विरोधको बेवास्ता गर्दै विगत दुई वर्षदेखि यसरी चर्को शुल्क लिने गरेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
प्रधानाध्यापक कार्कीले पनि पाँच हजार रुपैयाँसम्म शुल्क लिने गरेको स्वीकारे । उनले आर्थिकन्युजसंग भने, ‘हो, विगत दुई वर्षदेखि हामीले यसरी शुल्क लिँदै आएका छौँ ।’ उनका अनुसार यो शुल्क सबैका लागि भने होइन । सोही विद्यालयमा प्लस टु पढ्नेहरूका लागि सर्टिफिकेट निकाल्नका लागि दुई हजार रुपैयाँ शुल्क लिने गरेको उनले बताए। अन्य ठाउँमा प्लस टु पढ्न जानेहरूका लागि मात्रै पाँच हजार रुपैयाँ लिने गरेको उनको भनाई छ ।
उनका अनुसार यस्तो निर्णय त्यस विद्यालयमा रहेको विद्यालय व्यवस्थापन समितिले गरेको हो । उक्त समितिका अध्यक्ष समुन्द्री चौधरी रहेका छन् । सो विद्यालयका विद्यार्थीहरूले प्लस टु पनि त्यहीँ पढुन् भनेर समितिले यस्तो निर्णय गरेको उनले बताए । आफ्नै स्कुलका विद्यार्थी प्लस टु पढ्नका लागि बाहिर गए भने कक्षा ११/१२ चल्दैन भन्ने समितिको भनाई छ ।
त्यस विद्यालयमा शिक्षा र व्यवस्थापन संकायका विषयहरूको मात्र पढाइ हुन्छ । इन्जिनियर, स्टाफ नर्स, साइन्स लगायतका विषयहरू पढ्ने इच्छा भएका विद्याथीहरुलाई त्यहाँ सुविधा छैन । तर, विद्यालय प्रशासन र व्यवस्थापनले भने आफ्नो रोजाईको विषय पढ्न चाहनेलाई जरिवाना नै असुले जस्तो देखिएको छ । उक्त विद्यालयका एक अभिभावकले भने, ‘विद्यालयले आफ्नो रोजाईको विषय पढ्न पाउने विद्यार्थीको अधिकार हनन् गरेको छ। सर्टिफिकेटको लागि पाँच हजार रुपैयाँसम्म लिने गैर कानुनी निर्णय तुरुन्तै फिर्ता गरियोस् ।’
सर्टिफिकेटको महँगो शुल्क अभिलम्ब घटाउन र तिरेको रकम फिर्ता गरी न्यूनतम शुल्क कायम गर्न अभिभावक तथा विद्यार्थीको माग रहेको छ । उनीहरूले के पढ्ने र कहाँ पढ्ने भन्ने विद्यार्थी तथा अभिभावकको अधिकार हुने भएकोले उनीहरूमाथि शोषण गर्ने व्यवस्थापन समिति र प्रधानाध्यापकलाई कारबाहीको माग समेत गरेका छन्।
मनोमानीरुपमा सर्टिफिकेटको पैसा लिने विद्यालयलाई कारबाही गरिने त्रियुगा नगरपालिकाको शिक्षा शाखा प्रमुख शिव कुमारी राउतले बताईन् । उनले भनिन्, ‘सरकारी विद्यालयले यसरी मनोमानी ढङ्गले पैसा लिन मिल्दैन । यसरी विद्यार्थीसँग सर्टिफिकेटको नाममा महँगो शुल्क लिएको कुरा भर्खर जानकारीमा आयो । हामी उक्त विद्यालयलाई कारबाही गर्छौँ ।’
त्यस्तै, उनले अहिलेसम्म उक्त विद्यालयका विद्यार्थीहरूले तिरेको शुल्कको रसिद सहित नगरको शिक्षा शाखामा उजुरी गर्न समेत उनले आग्रह गरिन् । राउतले भनिन्, ‘अहिलेसम्म उक्त विद्यालयले बढी शुल्क लिएको उजुरी परेको छैन । बढी शुल्क लिएको रसिदसहित विद्यार्थी या अभिभावकले नगरमा आएर उजुरी हाल्नु होला । हामी कारबाही गर्नेर्छौ ।’
उदयपुर जिल्लाकै अर्को एक माध्यमिक विद्यालय बास्बोटे बुत्कुले एसइई पास भएर प्लस टु पढ्न जाने विद्यार्थीहरूबाट एसइई उतिर्णको प्रमाणपत्र बापत दुई हजार रुपैयाँ शुल्क लिने गरेको उक्त विद्यालयका शिक्षक शिवराम राई बताउँछन् । उनी भन्छन्, ‘हाम्रो विद्यालयले एसइईको सर्टिफिकेट दुई हजार रुपैयाँ शुल्क लिएर दिने गरेको छ । विद्यार्थीले लैजाने उक्त सर्टिफिकेटको शुल्क विद्यालय व्यवस्थापन समितिले तोक्ने गर्छ । विद्यार्थीबाट लिएको शुल्क विद्यालयको कोषमा जान्छ ।’
विद्यार्थीलाई भार पर्ने गरेर विद्यालयले शुल्क लिन नहुने उनको भनाई छ । शिक्षक राई भन्छन्, ‘विद्यार्थीलाई भार पर्ने गरेर कुनै पनि सरकारी विद्यालयले शुल्क लिन नहुने हो । तर, सर्टिफिकेट छपाइ लगायतको काममा पैसा लाग्ने भएकोले विद्यालयले केही रकम लिने गरेको छ ।’ सर्टिफिकेटको लागि आवश्यक पर्ने सम्पूर्ण भार सरकारले व्यहोर्नु पर्ने उनको धारणा रहेको छ ।
प्रतिक्रिया दिनुहोस