aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

माधव नेपालको पुनरागमनले तातेको रौतहटको चुनावी माहोल

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, २४ कार्तिक २०७९
माधव नेपालको पुनरागमनले तातेको रौतहटको चुनावी माहोल

काठमाडौं । राजदेवी नगरपालिका वडा नं. ९ का ५९ वर्षीय वीरेन्द्र सिंह पछिल्लो ३० वर्षदेखि दैनिक रूपमा डुङ्गामा मोटरसाइकल राखेर वडा नं. ६ स्थित श्री माध्यमिक विद्यालय सेढवा ओहोरदोहोर गर्छन् । सिंह पेसाले शिक्षक हुन् । राजदेवी नपाको वडा नं. ९ ब्रम्हपुरी र वडा नं. ६ सेढवालाई बागमती नदीले छुट्याएको छ । नदी पूर्वका पाँच हजार व्यक्ति रौतहटबाट अलग्गिएको महसुस गर्दै आएका छन् ।  

वर्षको छ महिनाभन्दा बढी समय उच्च बहाव रहने बागमती नदी डुङ्गामा तर्ने सिंह एक्लो हुनुहुन्न । दैनिक एक हजारभन्दा बढी व्यक्ति मोटरसाइकललाई डुङ्गामा राखेर बागमती तर्छन् । सेढवा र बडहर्वाका करिब पाँच हजार व्यक्तिले मङ्सिर ४ मा हुने निर्वाचनलाई ठूलो अवसरको रूपमा लिएका छन् । 

स्थानीय २० वर्षीय धिरजकुमार पटेलले पानीको उच्च बहावमा डुङ्गाको यात्रा गर्दा हुने त्रास उम्मेदवारले महसुस गरेको बताउँदै जितेपछि पुल निर्माणमा अग्रसरता देखाउने विश्वास व्यक्त गरे । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताले आइतबार सेढवामा घरदैलोको क्रममा आफूले चुनाव जिते पुल निर्माण गर्ने आश्वासन बाँडेर फर्किए । 

राजदेवी–१ पथराका ५५ वर्षीय ज्योतिष साहले भने, “उम्मेदवारले बागमतीमा पुल बनाउने आश्वासन बाँडेको दुई दशक बढी भयो तर पूरा भएको छैन ।” बडहडवामा पुल निर्माणाधीन छ तर दशक बित्न लाग्दा पूरा भएको छैन । सिंहले भने, “कयौँपटक अध्ययन भयो, पुल कागजमै सीमित छ ।” ब्रह्मपुरी घाटबाट अलपत्र अवस्थामा रहेको निर्माणाधीन पुल करिब पाँच किलोमिटर टाढा पर्छ । साधन हुनेले सुरक्षा खोज्दै भारतीय भूभागमा निर्मित पुल भएर सेढवा, बडहर्वा पुग्न बैरगनियाँ हुँदै करिब २५ किलोमिटर यात्रा गर्छन् ।

रौतहट निर्वाचन क्षेत्र नं. १ मा बागमतीपारिको उक्त वडासहित राजदेवी, गौर र माधवनारायण नपाका नौ–नौ वडा, यमुनामाई र दुर्गाभगवती गाउँपालिकाका पाँच–पाँच, गढीमाई नपाको तीन र गरुडा नपाको एक गरी ४१ वडा छन् । पाँचवटै पालिकादेखि सदरमुकाम गौरसम्मको सडक दुरुस्त छन् । दुवैतर्फको उर्वर खेतलाई कालोपत्रे सडकको विभाजनले पूर्वाधार विकासको अनुभूति गराउँछ तर सतहमा देखिने जस्तो अवस्था छैन । पश्चिममा लाल बकैया र पूर्वमा बागमतीको बीचमा रौतहटवासी बाढी डुबानको चपेटामा पर्दै आएका छन् । बागमतीमा बग्ने पानी खेतमा पुग्दैन । 

राजदेवी नपा वडा नं. ३ का ६५ वर्षीय नन्दलाल बैठाले खेतबारीमा सिँचाइको व्यवस्था, अस्पतालमा भरपर्दो स्वास्थ्य सेवा र सामुदायिक विद्यालयमा नियमित पठनपाठन गराउन सक्ने प्रतिनिधि निर्वाचित हुनुपर्ने औँल्याए । बाढी, डुबान र सिँचाइ अभावले खेतीयोग्य जग्गामा राम्ररी उत्पादन हुन सकेको छैन । किसानका आफ्नै चिन्ता छन् । युवालाई शिक्षा, स्वास्थ्यको खस्कँदो स्तरले भविष्यको पिर छ । 

प्रतिक्रिया दिनुहोस