aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

अब आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, २५ कार्तिक २०७९
अब आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने

काठमाडौं । नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन ल्याएको हो । 

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले मात्र ल्याउन सफल भएको दाबी गरे । 

कार्यकारी निर्देशक डा. श्रेष्ठले उक्त मेसिन बिरामीका लागि धेरै फाइदाजनक भएको बताए । उनका अनुसार मनमोहन अस्पतालले नेपालमै पहिलो पटक कार्डियो भास्कुलर हाइब्रिड थिएटर पनि ल्याएको छ । 

उनले कार्डियो भास्कुलर हाइब्रिड थिएटर अत्यधिक गुणस्तरीय रहेको भन्दै उक्त अपरेसन थिएटर नेपालमा पहिलो पटक ल्याउन सकेको बताए । अन्य सरकारी तथा निजी अस्पतालमा उक्त अपरेसन थिएटर नभएको उनको भनाइ छ । 

श्रेष्ठले मुटुको शल्यक्रिया र क्याथ ल्याब उपचार एकसाथ गर्न सक्ने अत्याधुनिक उपकरण ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’का लागि नेपालीले भारतमा गएर १५÷२० लाख खर्चने गरेको भन्दै नेपालमा भारतमा भन्दा सस्तो मूल्यमा उक्त सेवा दिने बताए । उनले कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिनामा २५ बिरामीले सेवा लिइसकेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस