aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

रवि लामिछानेसहित ३ जनाबारे के होला फैसला ? साधारण तारेख, धरौटी कि पुर्पक्षकालागि थुना

  • रासस
    रासस
  • आइतबार, ०८ भदौ २०७६
रवि लामिछानेसहित ३ जनाबारे के होला फैसला ? साधारण तारेख, धरौटी कि पुर्पक्षकालागि थुना

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला प्रहरी कार्यालयले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको अभियोगमा मुद्दा चलाउन राय दिएको हो । पुडासैनी आत्महत्याको विषयमा ३ जनालाई पक्राउ गरी प्रहरीले १० दिन लगाएर अनुसन्धान गरिसकेको छ । 

साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका पुडासैनीको मृत्युअघि रेकर्ड भएको भिडियोमा उनले अाफुलाइ अात्महत्या गर्न बाध्य पारेकाे अाशय ब्क्त गरेका थिए । 

उनले आफूलाई न्युज २४ टेलिभिजनको सीधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने, उक्त कार्यक्रमका उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीकाे नाम लिएकाे थियाे । 

उनीहरुलाई १० दिनसम्म थुनामा राखेर अनुसन्धान गरेपछि प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन राय दिएको उक्त घटना अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयलाई सहयोग गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का डीएसपी दीपक रेग्मीले जानकारी दिए ।

लामिछानेसहित ३ जनामाथि प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाइसकेकाले अब अनुसन्धानका लागि म्याद लिइरहन आवश्यक देखिएन ।

अब जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा रवि लामिछानेसहित ३ जनाविरुद्ध आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा मुद्दा दायर गर्न सक्नेछ ।

सरकारी वकिल कार्यालयले अभियोग दायर गर्दा प्रतिवादी लामिछानेसहित ३ जनालाई साधारण तारेखमा, धरौटीमा रिहा गर्न वा पूर्पक्षका लागि थुनामा पठाउन माग गर्न सक्छ । त्यसपछि उक्त मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस