आगामी मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । प्रदेशसभा सदस्य र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरू अहिले मतदाताको घरदैलो अभियानमा जुटिरहेका छन् । घरदैलो अभियानमा नै व्यस्त छन्, काठमाडौं क्षेत्र नं. ८ को १ का स्वतन्त्र उम्मेदवार विजय कुमार मानन्धर । पाँच दशकदेखि निरन्तर समाजसेवामा लागिरहेका मानन्धर आसन्न निर्वाचनमा बागमती प्रदेशको सदस्यका लागि आँखी झ्याल चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका छन् । उनै स्वतन्त्र उम्मेदवार मानन्धरसँग आर्थिक न्युज डटकमले कुराकानी गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश:
बागमती प्रदेशको सदस्यका लागि काठमाडौंको क्षेत्र नं. ८ को १ बाट तपाइको स्वतन्त्र उम्मेदवारी किन ?
मैले बागमती प्रदेशको प्रदेश सभा सदस्यका लागि काठमाडौंको क्षेत्र नं. ८ को १ बाट उम्मेदवारी दिएको छु । यस क्षेत्र अन्तर्गत वडा नं. १३, १९, २०, २३ र २४ पर्दछ । भ्रष्टाचारमुक्त, सांस्कृतिक र स्वस्थ समाजको लागि मेरो स्वतन्त्र उम्मेदवारी हो । यस क्षेत्रका बासिन्दाहरुलाई भइरहेको दुख, पीडाहरूलाई समाधान गर्न मेरो पाँच दशक लामो सामाजिक सेवा अनुभवले सहयोग गर्नेछ भन्ने हेतुले मैले आफ्नो स्वतन्त्र उम्मेदवारी दिएको छु । मैले लामो समयदेखि समाजसेवा गरिरहेको छु । त्यो समाजसेवालाई निरन्तरता दिनकै लागि ठाउँमा गएर अधिकार र बजेटसहित थप सेवा दिनका लागि अगाडी बढेको छु ।
यस क्षेत्रमा मैले उम्मेदवारी दिनु मेरा लागि एकदमै राम्रो अवसर हो । यो मेरो कर्म क्षेत्र हो । २३ नं. वडा मेरो पहिलेको कर्म क्षेत्र भएको वडा हो । २५ वर्ष सोही क्षेत्रमा रहेर योगदान दिएको छु । १३ नं. वडा हाल म बसिरहेको वडा रहेको छ । बाँकी रहेको यस क्षेत्रको वडा एकदमै सचेत नागरिक भएको वडा हो । यसले गर्दा यो क्षेत्र मेरो कर्म क्षेत्र मात्रै नभएर मलाई बुझ्न सक्ने मतदाता पनि यसमा नै छन् भनेर यो क्षेत्रलाई रोजेको हो ।
तपाईँका स्थानीय, क्षेत्रगत, सामाजिक र आर्थिक एजेण्डा के के छन् ?
कार्यकालको पहिलो दिनदेखि नै यस बागमती प्रदेश, काठमाडौं क्षेत्र नं. ८ ’१’ का सबै वडा १३, २३, १९, २०, २४ का स्थानीय जनताहरूको दैनिकी सँग जोडिएको सबै प्रकारका सेवाहरुः विद्युत्, टेलिफोन, खानेपानी, ढल, सडक, सडक बत्ती, फुटपाथ, पार्किङ र फोहोर व्यवस्थापन लगायत अन्य समस्याहरूको दीर्घकालीन समाधानको लागि तत्काल स्थानीय र विज्ञहरूको संलग्नतामा बृहत् कार्य योजना बनाई समाधान गर्नेछु ।
यस क्षेत्रभित्र पर्ने विभिन्न सांस्कृतिक सम्पदा मठमन्दिर जात्रा, पर्व, गुठी र चलनहरूको संरक्षण संवर्द्धन र पुनर्उत्थानका लागि विशेष सक्रियताका साथ लागी पर्नेछु साथै सम्बन्धित विज्ञ तथा गुरुहरुलाई उचित सम्मानको प्रणालीको व्यवस्था गर्नेछु ।
शून्य भ्रष्टाचारको सिद्धान्तलाई अवलम्बन गर्दै नेपाल सरकारबाट प्राप्त हुने विकास बजेटलाई स्थानीय जनताको संलग्नतामा पारदर्शी रूपमा इमान्दारितापूर्वक प्राथमिकताको आधारमा गुणस्तरीय र प्रभावकारी कार्यहरूमा खर्च गर्नेछु ।
परिवारको कुनै एक सदस्यलाई लागेको गम्भीर रोगको कारणले घर खेत नै बेच्नुपर्ने अवस्था आएको कथा घटनाहरू हामीले दैनिक रूपमा सुन्दै र भोग्दै आएका छौँ । यसबाट राहत दिन, गम्भीर रोगको पहिचानमा विशेष योगदान दिनको लागि प्रत्येक वडामा आवश्यकता अनुसार स्वास्थ्य क्लिनिक र प्याथोलोजी सेवाको व्यवस्था गरिनेछ । यस क्षेत्रका जनतालाई आवश्यकता र अवस्था अनुसार ठुला अस्पतालहरूमा गम्भीर र दीर्घरोगको उपचारका लागि सहुलियत सुविधा सिफारिस गर्ने विधि बसाल्ने छ ।
शिक्षा क्षेत्रमा स्थानीय निकायसँग समन्वय गरी आधुनिक युग सुहाउँदो पाठ्यक्रम र शैक्षिक पूर्वाधार विकासमा विशेष पहल गर्नेछु । जेहेन्दार र कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूको सही पहिचान गरी विभिन्न तहमा छात्रवृत्तिको व्यवस्था मिलाउन विद्यालय व्यवस्थापन समितिसँग प्रत्यक्षरुपमा समन्वय गर्नेछु ।
जनताको पहुँच सरकारसम्म प्रत्यक्ष र सहजपुरमा पुर्याउनका लागि प्रत्येक वडामा स्थानीय जनताका आवश्यकता र समस्या सम्बोधन गर्नका निमित्त सम्पर्क कार्यालय स्थापना गर्नेछु । जनताले मालपोत, नापी जस्ता प्रशासनिक कार्यालयहरूमा भाषिक तथा अन्य कारणवश भोग्नुपर्ने समस्याहरू समाधान र सहजीकरणको लागि विशेष विज्ञ टोली खडा गर्नेछु ।
तपाईँसँग त्यस्तो के छ जसले गर्दा काठमाडौंको क्षेत्र नं. ८ को १ का मतदाताले भोट हाल्ने ?
यस क्षेत्रका जनप्रतिनिधिहरूले काम नै गरेका छैनन । एक स्वतन्त्रबाट निर्वाचित भएर काठमाडौंको क्षेत्र नं. ८ को १ मा मैले विकासका काम गरेर नमुना क्षेत्रका रूपमा देखाउँछु । मेरो उद्देश्य भनेको नै जनताको दैनिकी जीवनसँग जोडिएका कुराहरूलाई सहज बनाउने हो । दैनिकीसँग जोडिएका कुराहरू सहज बनाइदिन सकियो भने समृद्ध बनाउन गाह्रो हुन्न । मलाई जनतादेखि आर्थिक नियमावली हुँदै व्यवसायको दुखसम्म थाहा छ । उनीहरूको समस्याहरूलाई सहज बनाउने छु । यससँगै मैले यसअघि भनेका सबै काम प्रतिबद्धताका साथ काम गर्नेछु । मैले आजका दिनसम्म गरेका समाजसेवालाई हेरेर भोलिका दिनमा पनि काम गरेर देखाउने विश्वासले मतदाताहरूले मलाई भोट दिनुहुन्छ । जनताले सोचेको र चाहेको जस्तो काम गरेर देखाउँछु ।
तपाईँका मुख्य प्रतिस्पर्धी को को हुन्, दलीय मतदाताले तपाईँलाई स्विकार्लान् त ?
यो क्षेत्रमा पहिलो पनि नेकपा एमालेले जितेको ठाउँ हो । मेरो प्रतिस्पर्धी राजेश शाक्य नै हो जस्तो लाग्छ । उहाँबाहेक अन्य पनि हुनुहुन्छ । तर, मेरो प्रतिस्पर्धा राजेश शाक्यसँग नै हुन्छ । पार्टीका कार्यकताहरुले बाहिर नदेखिए पनि तपाईँलाई भोट हाल्छु भन्नु भएको छ । प्रतिस्पर्धी जो भए पनि सचेत नागरिकले मलाई भोट हाल्नु हुन्छ भन्नेमा विश्वस्त छु ।
मैले घरदैलो कार्यक्रममा पुग्दा तपाई कुन पार्टीको हो भनेर सोध्नु हुन्छ । म स्वतन्त्रबाट आएको हो भनेर भन्दा हो ठिक छ । राजनीतिक पार्टीहरूलाई हामी भोट दिँदै नदिने । यिनीहरू घिनलाग्दो भइसके भन्नु हुन्छ । उहाँहरूको प्रतिक्रिया हेर्दा धेरैलाई राजनीतिक दलहरूप्रति वितृष्णा भएको पाइन्छ । यसले गर्दा पनि दलीय मतदाताले पनि म स्वतन्त्र उम्मेदवारलाई भोट दिनु हुन्छ ।
एकातिर प्रदेश खारेजको माग आइरहेको छ । यस्तो अवस्थामा तपाइले प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । संघियताको विषयमा तपाईँको धारणा के हो ?
संघीयताको विषयमा अरूको भन्दा मेरो फरक धारणा रहेको छ । तीन तहको सरकार भनेको कसैले व्यक्तिगतरुपमा ल्याएको होइन । कुनै पार्टीलाई मन परेर ल्याइएको पनि होइन । यो परिवर्तनको सिलसिलामा नेपाली जनताले आवश्यकता ठानेर ल्याइएको हो । जनता सचेत भएर नै एउटा प्रणालीले काम गरेन भनेर अर्को प्रणाली रोज्दै गर्दा संघीयता आएको हो । नेपाल जस्तो देशका लागि संघीयता एकदमै राम्रो हो भन्ने लाग्छ ।
प्रतिक्रिया दिनुहोस