aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

चीन लग्न लागिएको ५ हजार केजी रुद्राक्ष राजस्वको कब्जामा

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, २९ कार्तिक २०७९
चीन लग्न लागिएको ५ हजार केजी रुद्राक्ष राजस्वको कब्जामा

काठमाडौं । शंकास्पद रूपमा नेपालबाट चाइनातर्फ लैजाँदै गरेको ५ हजार केजी रुद्राक्ष राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर केन्द्रीय कार्यालय काठमाडौं पठाएको छ ।  

बिहीबार आन्तरिक राजस्व कार्यालय धरानले क्रेता र बिक्रेता स्पष्ट नभएको र शंकास्पद रूपमा ढुवानी गरिएको पाइएपछि धरानबाट दुईवटा पिकअपलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थियो । तर, आइतबार राजस्व अनुसन्धान कार्यालयले इटहरीमा अनुसन्धान नै नगरी उक्त सामानसहित राजस्व अनुसन्धान विभाग केन्द्रीय कार्यालय काठमाडौंमा पठाएको छ ।

बाग्मती प्रदेश ०१–०२६ च ५६०२ र प्रदेश १–०२–००२ च ४४३९ नम्बरको पिकअप गाडी आन्तरिक राजस्व कार्यालय धरानले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इटहरीमा बुझाएको थियो । उक्त पिकअपमा एउटामा २ हजार ५ सय केजीका दरले ५ हजार केजी रहेको बताइएको छ ।

इटहरीमै अनुसन्धान हुने भए पनि काठमाडौं पठाइयो, चलखेल हुनसक्ने आशंका

क्रेता र बिक्रेता स्पष्ट नभएको र मोक्ष रुद्राक्ष भण्डारले आप्mनै नाममा बिल काटेको भन्दै राजस्व कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । संखुवासभाबाट आएको उक्त पिकअपमा रुद्राक्षका क्रेता र बिक्रेता तत्काल नछुट्टिएको र ‘क्लियरिङ’मार्फत कार्यालयले नियन्त्रणमा लिएको थियो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीमै अनुसन्धान हुने विषय भए पनि आइतबार नै राजस्व अनुसन्धानले काठमाडौं पठाएको हो । काठमाडौं पठाएपछि ‘चलखेल हुनसक्ने’ आशंका भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार इटहरीमै अनुसन्धान गरेर जाँचबुझ हुने विषयलाई बिचौलियाले ‘चलखेल गर्न सक्ने’ बुझिएको छ ।

‘क्रेता र बिक्रेता नखुलेको भन्ने सूचनादाताले दिएको सूचना हो’, आन्तरिक राजस्व कार्यालय धरानका एक कर्मचारीले भने । यसको कारोबार विदेशी नागरिकसँग जोडिएको छ भन्ने कुरा आएको छ, जाँचबुझकै क्रममा रहेको हुनाले यसै भन्ने अवस्था छैन ।

यता, राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझाले भने शनिबार आफूहरूकहाँ पिकअपसहित रुद्राक्ष ल्याइएको र यहाँबाट अनुसन्धानका लागि काठमाडौं पठाइएको बताए । ‘नेपाली किसानको उत्पादनसँग जोडिने भएको र विदेशी मुद्रा नेपाल भित्रिने भएकाले हामीले अनुसन्धान गर्नेभन्दा पनि केन्द्रीय कार्यालयमार्फत नै अनुसन्धानका लागि पठाएका हौं,’ उनले राजधानीसँग भने, ‘चाइना जाने माल तलबाट जाँदैन, फ्लाइटबाटै जान्छ, बेच्न र खरिद गर्न पाइन्छ, तर यहाँबीचको मान्छे मात्रै भेटिएको र क्रेता र बिक्रेता तत्काल नखुलेको कुरा आएको छ ।’

प्रतिक्रिया दिनुहोस