
काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ३१, शान्तिनगरकी चन्द्रकला रेग्मी तीनकुनेस्थित एक सहकारीमा काम गर्छिन् । बिहान निस्कँदा र साँझमा घर फर्कंदा अस्तव्यस्त सडक छिचोल्दै हिड्छििन् । ठाउँठाउँमा सडक बिग्रिएका कारण दैनिक सामान्य दुर्घटनाको प्रत्यक्षदर्शी बन्नुपरेको उनी सुनाउछिन् ।
रेग्मीले भनिन्, “सबैभन्दा ठूलो समस्या अव्यवस्थित रूपमा बागमती नदी किनारमा रहेका घरटहरा हुन् । सुकुम्बासी बस्ती नदीका दुवै किनारमा छन्, खोला मिचेर निर्माण गरिएका घरटहराका कारण लामो जाम हुन्छ, सधैँ हैरानी भोग्नु परिरहेको छ ।”
उनी मात्रै होइन, भीमसेनगोलामा व्यवसाय गर्ने देउमान बानियाँ पनि दैनिक रूपमा यही वैकल्पिक सडक प्रयोग गर्छन् । उनलाई लाग्छ, “काठमाडौँभित्रै सडक र स्थानीयवासीको यस्तो दुर्दशा किन भएको होला १”
यसको उत्तर आफैँ बताउँदै बानियाँले भने, “सुकुम्बासी बस्तीमाथि ठूलो राजनीति छ, अहिलेसम्म जित्दै आएका वडाध्यक्ष नै सुकुम्बासी बस्ती हटाउन नदिने पक्षमा देखिन्छन् । भोट बैङ्कका रूपमा सुकुम्बासी नागरिकलाई प्रयोग गर्ने कर्ममा केही वाम राजनीतिक दल नै लागेको मैले पाएको छु ।”
काठमाडौँ महानगरपालिका वडा नम्बर ९ स्थित सिनामङ्गल, गैरीगाउँ र महानगरकै वडा नम्बर ३१ शान्तिनगरमा सुकुम्बासी बस्ती छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार सिनामङ्गल र गैरीगाउँ क्षेत्रमा १६२ र शान्तिनगरमा ४७६ घरधुरीको बसोबास छ । अव्यवस्थित घरटहरा र सडकसँगै बागमती किनार अतिक्रमणमा पर्दा यस क्षेत्रका बासिन्दा सधैँ प्रताडना भोग्न बाध्य छन् ।
राजनीतिले पिसिएका सुकुम्बासी १
काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले सुकुम्बासी बस्ती तत्काल हटाउने आधार नरहेको बताउँदै व्यवस्थित स्थान खोजेर स्थानान्तरणको बाटो पहिल्याउन सुझाव दिए । उनले भने, “सुकुम्बासी बस्तीका सन्दर्भमा मेरो र हाम्रो पार्टी एमालेको प्रस्ट धारणा छ, उचित ठाउँ पहिचान गरेर मात्रै सुकुम्बासीलाई स्थानान्तरण गर्नुपर्छ ।”
तर व्यवसायी बानियाँले वडाध्यक्ष ढकालको नियतमै खोट रहेको दाबी गरे । उनले सुकुम्बासी नागरिकलाई स्थानान्तरण गर्न वडाध्यक्षहरूकै पङ्क्तिले नचाहने दाबी गरे । उनले भने, “२०५० पछि बसोबास गरिरहेका सुकुम्बासीलाई उचित व्यवस्थापन गर्नुपर्छ, यसमा मेरो पनि दुईमत छैन तर सरकारले सुकुम्बासीलाई अपार्टमेन्ट नै दिएर अर्को ठाउँमा सार्न खोज्यो भने ढकालजीहरूले सिधै विरोध गर्नुहुन्छ, होइन भने यत्रो वर्ष सरकार के हेरेर बस्यो ?”
प्रतिक्रिया दिनुहोस