aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

अत्याधिक चासो र चर्चामा रहेका यी ३० निर्वाचन क्षेत्र

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, ३० कार्तिक २०७९
अत्याधिक चासो र चर्चामा रहेका यी ३० निर्वाचन क्षेत्र

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचन परिणामबारे प्रमुख राजनीतिक दलले आआफ्नै दाबीसहित प्रचारप्रसार गर्दै आएका छन् । जनमत आफ्नो पक्षमा देखाउन नेताहरूले भूगोलको वास्तविक यथार्थभन्दा बाहिर गएर प्रचारप्रसार गरिरहेका छन् । निर्वाचन परिणामबारे सबैतिर चासो बढ्न थालेको छ । प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ १ सय ६५ र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ ३ सय ३० निर्वाचन क्षेत्रमा चुनाव हुँदै छ । तर प्रमुख राजनीतिक दलका शीर्ष नेता प्रतिस्पर्धामा रहेकासहित ३० वटा क्षेत्रको चुनावी परिणाम र प्रतिस्पर्धा भने आमचासोको विषय बनेको छ । त्यसमध्ये एउटा हो, प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको डडेलधुरा जिल्ला ।

२०४८ सालको निर्वाचनपछि निरन्तर जित निकाल्दै आएका देउवा आगामी चुनावमा पनि सहज परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क देखिएका छन् । तर उनीसँग पार्टीकै पूर्वसहकर्मी कर्ण मल्ल प्रतिस्पर्धामा छन् । कांग्रेसबाट अलग्गिएका कर्ण बिपी कांग्रेसबाट प्रतिस्पर्धामा छन् । उनलाई एमाले अध्यक्ष केपी ओलीले समर्थन गरे पनि पार्टीका स्थानीय कमिटीले सहयोग गर्न नसक्ने जनाएका छन् । कर्णसँगै त्यहाँ सागर ढकालसहित विभिन्न दलका र स्वतन्त्र उम्मेदवार छन् ।  

त्यस्तै झापा ५ बाट चुनावी प्रतिस्पर्धामा छन्, एमाले अध्यक्ष केपी ओली । कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीविरुद्ध प्रतिस्पर्धा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीसहित साना दललाई उनले साथ लिएका छन् । राप्रपासँगको चुनावी तालमेलले उनलाई निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सहज हुने आकलन गरिएको छ। राप्रपाको भोट ओलीलाई गएन भने निर्वाचन परिणाम उलटफेर हुनसक्ने स्थानीयको दाबी छ । त्यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका खगेन्द्र अधिकारी ओलीसँगको प्रतिस्पर्धामा छन् । युग पाठकसहित अन्य उम्मेदवार पनि मैदानमा छन् ।  

झापा ३ कै निर्वाचन परिणाम र प्रतिस्पर्धा रोचक मात्र छैन, सबैका लागि चासोको विषय पनि बनेको छ । त्यहाँ सत्ता गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला र विपक्षी गठबन्धनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार छन् । लामो समयदेखि एकअर्काविरुद्ध खडा हुँदै आएका यी दुई नेताले फरक दुई धारको नेतृत्व गरेका छन् । सिटौला मुलुकमा गणतन्त्र स्थापना गर्ने सूत्रधारमध्ये एक हुन् भने लिङ्देन अहिले पनि राजतन्त्रको पक्षमा वकालत गरिरहेका छन् । लिङ्देनलाई एमालेको समर्थन रहे पनि स्थानीय नेताहरूले असहमति जनाउँदै विद्रोही उम्मेदवारी दिएका छन् । त्यसको प्रभाव झापाका अन्य क्षेत्रको परिणाममा पनि पर्नेछ ।  

झापा १ पनि चासो र चर्चामा छ । त्यहाँ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले नेता अग्नि खरेल प्रतिस्र्धामा छन् । पार्टीभित्रका दुई जबरजस्त समूहबाहेक अलग समूहबाट कांग्रेस महामन्त्रीमा निर्वाचित शर्मा सोही क्षेत्रबाट तेस्रो पटक प्रतिस्पर्धामा छन् । दुई पटक असफल शर्मा यस पटक त्यसलाई तोड्न चाहन्छन् । चुनावी मैदानमा नयाँ उम्मेदवार खरेल पनि पार्टीको पुरानो विरासत कायम राख्न परिणाम आफ्नो पक्षमा पार्न तल्लीन छन् ।  

प्रतिक्रिया दिनुहोस