
काठमाडौं । राष्ट्रिय राजनीति चर्चा कमाएका व्यक्तिहरु अहिले मङ्सिर ४ गते हुन भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार रहेकाले सप्तरीको निर्वाचन क्षेत्र नं। २ यतिबेला चर्चामा छ । राष्ट्रिय अध्यक्षको राजनीति रणभूमिका कारण यो क्षेत्र चर्चामा हुने गरेको हो । तत्कालीन नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष गजेन्द्रनारायण सिंहको निर्वाचन क्षेत्र पनि यो नै थियो ।
अहिले यस क्षेत्रमा दुई पार्टीका राष्ट्रिय अध्यक्ष र सत्ता गठबन्धनका उम्मेदवार चुनावी मैदानमा उत्रिएको कारण सप्तरी २ लाई सुक्ष्म तरिकाले हेर्ने सकिने अवस्थामा छैन । जित र हारको अदृश्य खेलमा जितका लागि विभिन्न समिकरण बनाउँदै भत्किदै गरेकाले परिणाम अपेक्षाकृत हुनेमा कुनै उम्मेदवार ढुक्क भने छैनन् ।
यस क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) बीच चुनावी रस्साकसी छ । राजनीतिक शक्तिहरुको मतको हिसाबले सत्ता गठबन्धनका उम्मेदवार जसपाभन्दा दोब्बर र जनमतभन्दा ११ गुणा मतले अगाडि छन् । तर, मतदाता अझै खुलेको छैन । शान्त भएर बसेका कारण जुनसुकै उम्मेदवारलाई मत परिणाम आफ्नौ पक्षमा पार्न निकै सकस परेको छ ।
गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा ६४ प्रतिशत अर्थात् करिब ६२ हजार मत खसेको थियो । त्यसमा सत्तारुढ गठबन्धन दललाई ३७ हजार ३७३ मत, जसपा–एमालेले १९ हजार ७५, जनमतले तीन हजार २७१ मत प्राप्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस