काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा ७१ जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन । टोखा नगरपालिकाका विभिन्न वडाका काँग्रेस र माओवादीमा आबद्ध तथा स्वतन्त्र रहेका ७१ जना युवाहरु विकेश थापा मगर र राजेन्द्र लामाको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।
बसुन्धारामा बुधबार साँझ आयोजित कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले उहाँहरुलाई पार्टीमा प्रवेश गराए । वरिष्ठ उपाध्यक्ष पोखरेलले युवाहरुको भावनालाई आफूले सम्मान गर्दै उचित जिम्मेवारी दिने बताए ।
काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेको पक्षमा लहर आएको बताउँदै उनले यस क्षेत्रको जनताको माया, स्नेह र सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको बताए । काठमाडौं क्षेत्र नम्बर ५ को विकासको नेतृत्व एमालेले लिने उनले बताए ।
थापासीस्थित सामाजिक संस्था ओयसिस क्लवका संस्थापक अध्यक्ष रहेका राजेन्द्र लामाले ईश्वर पोखरेलबाट प्रभावित भएर आफूहरु एमाले प्रवेश गरेको बताए । कार्यक्रमलाई नेकपा एमाले केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारी र काठमाडौं ५ (२)का प्रदेश सभा सदस्यका उम्मेदवार एवं एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस