
काठमाडौं । सुदूरपश्चिमबाट प्रतिनिधि सभाका (१६) र प्रदेश सभाका (३२) गरेर ४८ प्रत्यक्ष क्षेत्रमा मुख्य दलहरूले निक्कै कम नयाँ अनुहारलाई मात्र टिकट दिएको छन् । त्यस क्रममा एमालेले बझाङबाट प्रतिनिधि सभा सदस्यमा ऐनबहादुर महरलाई उठाएको छ । उहाँ अनेरास्वयियूको केन्द्रीय अध्यक्ष भइसक्नु भएको छ ।
यस्तै गरेर काँग्रेसले प्रदेश सभामा कैलाली क्षेत्र नं. ५ ‘ख’ महाधिवेशन प्रतिनिधि प्रकाशबहादुर देउवा, अछाम क्षेत्र नं. २ ‘ख’ पूर्व प्रहरी अधिकृत मानबहादुर रावललाई उम्मेदवार बनाएको छ । यस्तै एमालेले कैलाली क्षेत्र नं. १ ‘ख’ द्वारिका न्यौपाने, कैलाली क्षेत्र नं. २ ‘ख’ डेजी पाण्डे दार्चुला ‘क’ मा हरदेव जोशीलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ । यस्तै एकीकृत समाजवादीले युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नरेशबहादुर शाहीलाई बाजुरा ‘क’ को उम्मेदवार बनाएको छ ।
प्रतिनिधि र प्रदेश सभा सदस्यका मुख्य दलका अरू उम्मेदवार भने वडा, पालिका, प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभा सदस्यका जितेका वा हारेकाहरू मात्र छन् ।
सुदूरपश्चिमको चुनावको रोचक पक्ष
सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्रका अधिकांश क्षेत्रमा दुई पक्षीय प्रतिस्पर्धा हुने भए पनि कैलालीका सबै क्षेत्रमा भने त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको डडेलधुरा, मन्त्री दिलेन्द्रप्रसाद बडुको चुनाव लड्नु भएको दार्चुला र अर्का मन्त्री शेरबहादुर कुँवर उम्मेदवार रहेको अछाम क्षेत्र नं. १ मा समेत दुई पक्षीय प्रतिस्पर्धा हुने सम्भावना रहे पनि कैलालीका प्रतिनिधि सभाका पाँच र प्रदेशका १० वटै क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कञ्चनपुरका तीनै क्षेत्र, अछामको क्षेत्र नं. २, बाजुरा, डोटी, दार्चुला र बझाङमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै गरेर बैतडीको प्रतिनिधि सभा क्षेत्रमा दुई पक्षीय प्रतिस्पर्धा हुने भए पनि प्रदेश सभा ‘क’ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका वीरबहादुर विष्ट, नेकपा (एमाले) सुरेन्द्रबहादुर पाल र काँग्रेसका बागी हरि मोहन भण्डारीबिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
कैलालीको क्षेत्र नंं. ४ मा प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर र नेकपा (एमाले)का प्रदेश इन्चार्ज लेखराज भट्टबिच दुई पक्षीय प्रतिस्पर्धा रहेको छ । तर सो क्षेत्रमा स्थानीय तहको चुनावमा कैलालीमा पहिलो पार्टी बनेको नागरिक उन्मुक्तिले पनि उल्लेख्य मत ल्याउने अपेक्षा गरिएको छ ।
क्षेत्र नं. ४ को प्रदेश सभा ‘क’ मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) नेता प्रदेश सरकारका मन्त्री दीर्घबहादर सोडारी, एमालेका भीमबहादुर देउवा र नागरिक उन्मुक्तिका राजेन्द्र देवकोटाबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने बताइएको छ । प्रदेश सभा ‘ख’ मा पनि काँग्रेसका प्रकाशबहादुर बम, एमालेका हरिसिंह साउँद र काँग्रेसका बागी भगवती ओझा (पाठक) बिच प्रतिस्पर्धा छ ।
कैलाली क्षेत्र नं. १ मा काँग्रेसका राम जनम चौधरी, एमालेका तपेन्द्रबहादुर रावल, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, क्षेत्र नं। २ मा नेकपा (माओवादी केन्द्र) का भगत बडुवाल, एमालेका झपट रावल , उन्मुक्तिका अरुनकुमार चौधरी, क्षेत्र नं. ३ मा माओवादीका कृष्णकुमार चौधरी, एमालेका गौरीशंकर चौधरी र उन्मुक्तिका गंगाराम चौधरीवीच प्रतिस्पर्धा हुने आकलन छ । केही विश्लेषकले भने राप्रपाका वीरेन्द्र बम पनि प्रतिस्पर्धामा रहेको चर्चा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस