काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुन तीन दिन बाँकी रहेको छ । तीन दिनपछि हुने निर्वाचनमा काठमाडौंको क्षेत्र नं ७ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुबीच बडा प्रतिस्पर्धा हुने देखिएको छ ।
त्यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट मानुषी यामी भट्टराई उम्मेदवार रहेकी छिन् । यससँगै क्षेत्र नं ७ को प्रतिनिधिसभा निर्वाचनका लागि १६ स्वतन्त्रसहित २९ जनाले उम्मेदवारी दिएका छन् । यस्तै सोही क्षेत्रको प्रदेशसभा (क) मा चार स्वतन्त्रसहित १२ र प्रदेशसभा (ख) मा तीन स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी परेको छ ।
प्रतिनिधि सभाको सदस्यका लागि २९ उम्मेदवारले भाग लिएको उक्त क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका मानुषी यमी भट्टराई र नेकपा (एमाले) को तर्फबाट श्यामकुमार घिमिरे मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिको निर्वाचनको मत परिणाम अनुसार नेकपा (एमाले)को किल्ला मानिन्छ । एमालेको किल्लामा मानुषीको ‘इन्ट्री’ भएसँगै त्यस क्षेत्रको निर्वाचन थप रोचक बन्ने देखिएको हो ।
पछिल्लो समय युवा पुस्ताको प्रतिनिधित्व गर्दै आसन्न प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बनेकी मानुषीको जन्म काठमाडौंको भुरुङखेलमा भएको थियो । पढाइमा अब्बल मानुषी यामीले त्रिविबाट राजनीति शास्त्रमा गोल्डमेडसहित स्नातकोत्तर गरेकी छिन् ।
२०६५ को स्ववियु निर्वाचनमा केन्द्रीय क्याम्पस कीर्तिपुरमा हालसम्मकै धेरै मतसहित सचिवमा विजयी भएकी मानुषीले स्ववियु कार्यकालमा त्रिभुवन विश्व विद्यालय रहेका अनेकन समस्याहरूलाई समाधान गर्न ठुलो पहलकदमी गरेकी थिइन् ।
मानुषीको प्रमुख प्रतिस्पर्धी काठमाडौं ७ मा नेकपा एमालेका श्यामकुमार घिमिरे रहेका छन् । २०३६ सालमा अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा आएका घिमिरे शिक्षक सङ्गठनमा सक्रिय रहे । केही समय किसान र मजदुर सङ्गठनमा पनि काम गरे ।
राजनीतिक आन्दोलनका क्रममा केही समय जेल परेका घिमिरे २०४३ सालको पञ्चायती निर्वाचनमा जन पक्षीय उम्मेदवार बनेका थिए । एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य रहेका घिमिरे २०७४ सम्म काठमाडौं–७ को चुनाव प्रचारप्रसारमा सक्रिय रहँदै आएका उनी यस पटक आफैँ उम्मेदवार बनेका छन् ।
यस पटकको चुनावमा यस अघि नेकपा (एमाले) बाट दुई पटक चुनाव जितेर राज्य मन्त्री समेत भइसकेका रामवीर मानन्धरले स्वतन्त्र उमेदवारी दिए सँगै नेकपा एमालेलाई जनमत आफ्नो पोल्टोमा पर्न अलि बढी नै कसरत गर्नु पर्ने देखिन्छ । सांसद भएको बेलामा विकास निर्माणको काम गरेर जनताहरूको मन जित्न सफल मानन्धर एमालेमा विकाश प्रेमी नेताको रूपमा पनि चिनिन्छन्।
पछिल्लो समय पार्टी अध्यक्ष सँगको टकराबका कारणले टिकट नपाएका उनले सहरी क्षेत्रमा एमालेको ठुलै भोट काट्ने अड्कल गरिएको छ। यदि चुनावको दिन सम्ममा एमाले पार्टीले उनलाई केही आश्वासन दिएर उनको अधीनमा रहेको भोट एमालेमै खसाउने कोसिस गरेमा एमालेलाई अहिलेको प्रतिस्पर्धा केही सहज हुने छ तर त्यो सम्भावना निकै कम छ।
त्यस्तै २०५१ सालको मध्यावधि र २०५६ को आम निर्वाचनमा एमालेको टिकटबाट काठमाडौँमा विजयी भएका राजेन्द्र श्रेष्ठले पनि एमालेकै भोट काट्ने हुनाले पनि वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट मानुषीको पल्ला भारी भएको सहजै अनुमान लगाउन सकिन्छ ।
गत वैशाखमा भएको स्थानीय चुनावको मतपरिणम अनुसार यो क्षेत्रमा वडा अध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेपाली काँग्रेस अगाडि छ । काँग्रेसले १४ हजार १६७, एमालेले १२ हजार २०२ र एकीकृत समाजवादीले ३ हजार ८३९ मत पाएको छ । त्यस्तै, राप्रपाले २ हजार २७, माओवादी केन्द्रले ५७६ र जसपाले १६२ मत पाएको छ । स्वतन्त्र उम्मेदवारहरूले पाएको भोट सङ्ख्या २ हजार २०६ छ ।
त्यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट धुव्रविक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, हाम्रो नेपाल पार्टीका प्रवेन्द्र पोखरेल, नेपालका लागि नेपाली पार्टीका राम नेपाली, नेपाल मजदुर किसान पार्टीका किरण महर्जन, नेपाली काँग्रेस (विपी)का कमलाकुमारी शर्मा भुसाल, नेपाल आमा पार्टीका कृष्णप्रसाद दवाडी, राप्रपा नेपालका कुमार श्रेष्ठ, जनसमाजवादी पार्टी नेपालका राजेन्द्रप्रसाद श्रेष्ठ, जनसमाजवादी पार्टीका शैलेशराज श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवारका रूपमा रामवीर मानन्धर, यादवलाल कायस्थ, प्रशन्नकुमार अर्याल , किरण केसी, रवीन्द्रकुमार श्रेष्ठ, ईश्वर अर्याल, प्रकाश कुँवर, भरत तामाङ, लक्ष्मणप्रसाद गजुरेल, लोकप्रसाद सिंखडा, रोजिना अवाले, राजकुमार कोइराला, मन्जुमाया तामाङ, सुजनरत्न बज्राचार्य, हेमबहादुर ढुङ्गेल र जानुका पौडेलले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा (क) मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट वसन्तप्रसाद मानन्धर र एमालेको तर्फबाट जीवन मानन्धरले उम्मेदवारी दिनुभएको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट जगदीशमान राज भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट धर्मसेन महर्जन, राप्रपाबाट रोजिन गुरुङ, हाम्रो नेपाल पार्टीबाट रवीन्द्र मोइन श्रेष्ठ, राप्रपा नेपालबाट रत्नाकुमारी श्रेष्ठ प्रधान र जनसमाजवादी पार्टी नेपालबाट बाबुराजा प्रजापतिले उम्मेदवारी दिएका छन् ।
यस्तै, प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवार प्रधुमान महर्जन, सर्वज्ञ बज्राचार्य, गोपालप्रसाद माली र रवीन्द्र महर्जनले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए । काठमाडौं क्षेत्र नं ७ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सविन तामाङ र एमालेको तर्फबाट प्रकाश श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
यस्तै, राप्रपाबाट लालकुमार लामा, नेपाल मजदुर किसान पार्टीबाट इन्द्रकुमार बज्राचार्य, राप्रपा नेपालबाट राजन महर्जन, जनसमाजवादी पार्टी नेपालबाट शंकरदेव लामाले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस