aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

मौन अवधिमा उलटफेर हुन सक्छ चुनावी नतिजा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शुक्रबार, ०२ मंसिर २०७९
मौन अवधिमा उलटफेर हुन सक्छ चुनावी नतिजा

काठमाडौं । निर्वाचन कार्यक्रमअनुसार आइतबार हुने निर्वाचनका लागि बिहीबारर राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरी रोक लगाएको भए पनि निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रूपमा मत आफ्नो पक्षमा पार्ने कसरत चुलिन्छ । यही अवधिमा अधिकांश चुनावी आंकलन ‘उलटफेर’ हुने गरेको विगतको अनुभव छ ।

मधेसको चुनावमा मौन अवधिलाई ‘नतिजा बदल्ने रात’ का रूपमा लिइन्छ । प्रतिस्पर्धामा रहेका उम्मेदवारले तटस्थ मत र विपन्न बस्तीका मतलाई खरिद गर्न मोलतोल यही अवधिमा हुने गर्छ ।

अन्तिम अवस्थामा पनि नतिजा उलटपुलट हुन्छ मधेसमा । यही अवधिको कसरतले जित्ने पक्का भनिएको उम्मेदावरलाई पछारेर अर्को उम्मेदवार अघि बढेका र अप्रत्यासित परिणाम आएका उदाहरण थुप्रै छन् । यो खेल मौन अवधिको रातबाट सुरु भई चुनावको अघिल्लो रातसम्म चल्छ । आसन्न निर्वाचनमा उम्मेदवार अधिकांश पैसावाला भएकाले मौन अवधिमा विगतको भन्दा बढी रकमको चलखेल हुने जानकारहरू बताउँछन् । मधेसको चुनावी अंकगणित मौन अवधिमै तय हुने गरेको ती जानकारले सुनाए ।  

समुदायका अगुवाले आफ्नो पकड क्षेत्रका मत अहिले पनि आफूले चाहेको उम्मेदवारका पक्षमा खसालिदिन सक्छन्। त्यस्ता मत हासिल गर्न उम्मेदवारले उनीहरूलाई निश्चित रकम दिन्छन् । अगुवाले कति मत प्रभावित पार्न सक्छन्, त्यसैका आधारमा मौन अवधिमा उसलाई एकमुष्ट रकम उपलब्ध गराउँछन् उम्मेदवारले । ‘कतिपय अगुवाले पैसा लिएको उम्मेदवारको पक्षमा तोकेरै यति मत खसाल्न लगाउँछु भनेर लिखितरूपमै सकारेका हुन्छन्,’ एक राजनीतिकर्मी भन्छन्, ‘रकम लिए जति त्यस क्षेत्रबाट भोट नआउँदा निर्वाचनपछि पैसा फिर्ता माग्ने चलनसमेत छ ।’ गत स्थानीय तह निर्वाचनमा सुखिपुर नगरपालिकाको बनिनियाँ गाउँमा भोट नदिनेसँग पैसा फिर्ता लिएको स्थानीय विनोद यादवले बताए ।  

यही विषयमा धेरै स्थानमा मारपीट भएको उदाहरण छन् । आफूले नजित्ने देखेपछि प्रतिस्पधामा रहेको अर्का उम्मेदवारलाई प्रचारप्रसार खर्चमा केही रकम थप लिएर सघाउने चलन पनि छ । यसपालीको चुनावमा मधेसका गाउँसहरमा करिब ४० प्रतीशत मतदाता प्रस्ट खुल्न नसेकका रहेको अनुमान छ । यो मत जता ढल्किन्छ, जित उसैको पक्षमा जान्छ । त्यसैले प्रत्यासी मौन अवधीमा मौनमत हत्याउन साम, दाम, दण्ड, भेद सबै दाउ अपनाउँछन, एक राजनीतिकर्मीले भने ।

बरियारपट्टिको दलित बस्तिमा ‘बिराना मान्छे’ को आउजाउ बाक्लिएको छ । रात परेपछि नयाँ मान्छे आउने क्रम बाक्लिएको छ,’ ३५ वर्षीया दुखनी सदायले भनिन्, ‘भोट दिनुस्, हामी केही पर्यो भने सहयोग गर्छौैं भनेर फकाउँछन् ।’ १ लाख ७ हजार ४ सय ६५ मतदाता रहेको बरियारपट्टि समेटिएको सिरहा क्षेत्र नम्बर २ का करिब ४० प्रतिशत हिस्सा मौन रहेको अनुमान छ । आक्रामक प्रचारमा हिँडेका राजनीतिक दल मौन अवधिमा त्यही हिस्सालाई आफूतिर तान्न लागिपरेका छन् ।

गोलबजार नगरपालिका १० धोवियाधारको डिलमा रहेको मुसहर बस्ती पनि राजनीतिक रूपमा ‘मौन’ छ । कुनै दलप्रति प्रतिबद्ध नभएकैले विभिन्न राजनीतिक दलले यस्ता मत आफूतिर तान्न मौन अवधि उपयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस