aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

निर्वाचनमा मतदाता शिक्षामा खटेका यी कलाकारहरु

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ०२ मंसिर २०७९
निर्वाचनमा मतदाता शिक्षामा खटेका यी कलाकारहरु

काठमाडौं । मतदान गर्न जागौँ, उठौँ सारा

राज्यले दिएको हाम्रो अधिकार

हाम्रो एक भोटले देशको मुहार फेरिन्छ ।

विकास र समृद्धिको रेखा कोरिन्छ ।

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि मतदान वा मतदाता शिक्षा बारे विभिन्न श्रव्यदृश्य सामाजिक सञ्जालमा देखिएका छन् । यसरी मतदाता शिक्षाको बारेमा जानकारी दिनका लागि निर्वाचन आयोगले विभिन्न तरिका अपनाएका छन् । आयोगले विभिन्न कलाकारलाई समेटेर निर्वाचन र मतदानको महत्त्व, आचारसंहिताका व्यवस्थाका मतदाता शिक्षाका बारेमा सन्देश प्रवाह गरिरहेको छ । 

यस्तै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कलाकार सीताराम कट्टेल, कुञ्जना घिमिरे, (धुर्मुस–सुन्तली), केदार घिमिरे (माग्ने बुढा), दीपाश्री निरौला, पशुपति शर्मा र मनमाया वाइवाको लोकदोहोरीमा पनि मतदाता शिक्षा सन्देशका रूपमा निर्वाचन आयोगले प्रस्तुत गरेको देखिन्छ ।

निर्वाचन र मतदाता शिक्षा प्रवाह गर्नुमा कलाकाको पनि प्रमुख भूमिका रहन्छ । पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो तर यस पटक भने त्यस्तो व्यवस्था छैन । कलाकारले सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा सम्बन्धी सन्देश पस्किरहेका छन् ।

निवार्चन, मतदाता शिक्षा र कलाकार

हास्य कलाकार उत्तम केसीलाई यसपालिको निर्वाचन खासै उत्साहजनक लागेको छैन । उनी भन्छन्, “म आफैँ पनि यसपालिको निवार्चनप्रति त्यति उत्साहित छैन । तर, आफ्नो मताधिकार भने प्रयोग गर्छु ।”

राजनीतिक पार्टीको वितृष्णा जागेर स्वतन्त्र पार्टीहरू जागेको अवस्थामा मतदान गर्नुपर्ने उनको भनाइ छ । “निर्वाचन आयोगले मतदाता शिक्षा प्रणालीको लागि थुप्रै बजेट विनियोजन गरेको छ भन्ने सुनेको छु । तर, पनि नेपाली समाजमा मतदातालाई मत हाल्ने शिक्षा शून्य छ”, उनी भन्छन्, “चार वटा मतपत्रमा चार वटा भोट हाल्नुपर्छ भन्ने थाहा छ तर हामी जानेका र बुझेकालाई नै गाह्रो छ मतदान गर्न । यस अवस्थामा गाउँमा झनै मतदाता शिक्षा कमजोर हुने गरेको पाइन्छ ।”

यस्तै, निर्वाचनलाई लक्षित गर्दै कलाकारले मतदान सम्बन्धी जनचेतना फैलाउन विभिन्न श्रव्यदृश्यको प्रवाह गरिरहेका छन् । तर, पनि सरकारी स्तरबाट हुनुपर्ने काम नभएको कलाकारको गुनासो छ । 

अभिनेत्री दीपाश्री निरौलाले विराटनगर क्षेत्र नं ६ बाट मतदान गर्ने जानकारी दिइन्। उनी भन्छिन्, “नेपाली समाजमा मतदान र मतदाता शिक्षाको बारेमा ज्ञान शून्य छ । आफ्नो मताधिकारको सदुपयोग हामीले अझै पनि गर्न सकेका छैनौँ ।” 

जनताले हाम्रो मान्छेभन्दा पनि राम्रो र देश विकास गर्नेलाई आफ्नो अमूल्य मत दिनुपर्ने उनको मान्यता रहेको छ । “म पार्टी हैर्दिन, मान्छे हेर्छु । जुनसुकै पार्टीबाट होस् त्यो सरोकार भएन, आफ्नो क्षेत्रलाई राम्रो बनाउने मान्छे हुनुपर्छ,” उनले भनिन् । 

उनका अनुसार कलाकारले मतदान शिक्षा दिनको लागि विभिन्न भिडियो सामग्री प्रस्तुत गरेका छन्। मत बदर हुने प्रक्रिया, मत किन्नेदेखि सावधान रहने र काम गर्ने मानिसलाई मतदान कसरी गर्ने भन्ने शिक्षा दिने प्रयास गर्दै कलाकारले श्रव्यदृश्य तयार गरेर प्रवाह गरिरहेको उहाँको भनाइ छ । 

मतदान हैन र सचेत मतदान गरौँ

नायिका करिश्मा मानन्धर काठमाडौं क्षेत्र नम्बर ५ बाट मतदान गर्दै छिन् । उनी भन्छिन्, “मतदान गर्नु हाम्रो अधिकार हो । यसको प्रयोग हामी सबैले गर्नुपर्छ । दलगत पद्धति भएको हाम्रो देशमा मतदान अनिवार्य आवश्यक रहेको छ । सामाजिक सञ्जालमा धेरै टिप्पणी गरेका मानिस पनि मतदान गर्न मतदान स्थल पुग्दैनन् ।” 

युवामा पनि मतदानको महत्त्वको बारेमा जागरूकता नभएको उनको भनाइ छ । “यस्ता युवा पुस्तासमेत छन् जसले मतपत्र नै बनाएका छैनन् । जिम्मेवार पदमा भएका व्यक्तिको पनि मतपत्र छैन”, उनी भन्छिन्, “आफ्नो मतको महत्त्व हामी सबैले बुझेका छैनौँ र मतदानप्रति हामी हरेक नागरिक सचेत पनि छैनौँ ।” 

प्रतिक्रिया दिनुहोस