सिन्धुपाल्चोक । बलेफी र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने मोटरबेल पलको बाजागाजासहित शनिवार दोस्रो पटक उद्घाटन भइरहँदा स्थानीय खुबै अचम्मित देखिन्थ्ये । गत चैतमा तयार भइसकेको पुल एक महिनाअघि स्थानीयले खाबो हटाउँदै उद्घाटन गर्दै सुचारु गरेका थिए ।
अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसहित प्रदेश मन्त्री, सांसदको जम्बो टोलीले रिबन काट्दै पुल सञ्चालन भएको घोषणा गरे।
'यो कस्तो अचम्म हो, एउटै पुलको दुई पटक उद्घाटन भयो, बाँच्नु मात्रै पर्दोरहेछ अनेक देख्न पाइने रहेछ' दुवै उद्घाटनमा सहभागी ६० वर्षीय सोनाम लामाले भने। बलेफी ८ र त्रिपुरासुन्दरी ६ जोड्ने सुनकोसी मोटरबेल पुल नेता, मन्त्री र सांसदले उद्घाटन गर्ने खबर पाएका स्थानीयले खुब कुर्नुपरेको उनले सुनाए।
चैतमै सकिएको पुल निर्माण वर्षात सक्दा पनि ठूलाको उद्घाटन पर्खाएर सञ्चालनमा ल्याइएको थिएन। '६ महिनापछि बल्ल ठूला मान्छेबाट उद्घाटन भयो, त्यही प्रवत्तिलाई लत्याएर उबेला स्थानीयले चलाइसके', उनले भने। कार्यक्रममा मन्त्री महासेठ, प्रदेश ३ का पर्यटन तथा वनमन्त्री अरुण नेपाल, सांसद्वय अग्निप्रसाद सापकोटा र सुरेश नेपालसहित जनप्रतिनिधि उपस्थित थिए ।
६ वर्षमा बन्यो पुल चरिकोट सडक डिभिजन कार्यालयका इन्जिनियर गार्गल भण्डारीका अनुसार चैत महिनामा सुविधाजनक मोटरवेल पुल सकिएको थियो । दश करोड ९० लाख बराबरको लागतमा बनेको मोटरवेल पुल २०७१ सालमा ठेक्का प्रक्रिया सकेर बनाउन थालिएको थियो । ०७१ जुरे पहिरो र ०७२ भुकम्प, बखापिच्छैको पहिरो, कोसी कटानले बारम्बार अवरोध भएपछि पुलको काम रोकियो।
विपत्ती सहँदै सोवर्ण निर्माण सेवा कम्पनी ठेकेदार अर्जुन थापाले ६ वर्षमा झोलुंगे मोटरवेल पुल निर्माणलाई टुंग्याए। यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस