काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज मध्यराति १२ बजेबाटै स्थिर समय सुरु भइसकेको छ । यसअघिका निर्पाचनका बेला यस समयलाई मौन अवधि भन्ने गरिएको भए पनि यस पटक चाहीँ निर्वाचन आयोगले स्थिर समय भनेको छ ।
यस अवधिमा मतदाताहरुले मौन रहेर आफ्नो विवेक प्रयोग गरुन् भन्ने उद्धेश्यले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा यो व्यवस्था गरिएको छ । यो एनेमा मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना नसकिएसम्म कुनै पनि दल तथा उम्मेदवारका पक्षमा रहेर प्रचार प्रसार गर्न नपाउने भनिएको छ ।
त्यसैगरी, कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ । मौन अवधिको उल्लङ्घन गरे आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले रु २५ हजारसम्म जरिवाना हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस