
धनगढी । सुदूरपश्चिम प्रदेशमा एक हजार एक सय ६१ मतदानस्थल छन्। प्रदेशका नौवटै जिल्लामा गरी तीन सय ५२ मतदान केन्द्रलाई अति संवेदनशील वर्गीकरण गरिएको छ । सोही आधारमा प्रदेशमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदेशमा ६ हजार ४ सय १० प्रहरी तथा ११ हजार ५ सय ५९ म्यादी प्रहरीसहित १७ हजार नौ सय ६९ जना परिचालन गरिएको छ। मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उनीहरु मतदान स्थलतिर गएका हुन् । कर्मचारीसँगै सुरक्षाकर्मी पनि मतदानस्थल पुगेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रवक्ता एसएसपी भोला रावलले बताए ।
उनका अनुसार प्रहरी कार्यालय नजिक रहेका मतदान स्थलमा शुक्रबार सुरक्षाकर्मी जानेछन् भने अन्य क्षेत्रमा बिहीबार नै प्रहरी गएका छन् । ’अस्तिबाट प्रहरी पनि हिँडेको छ । धेरै ठाउँमा पुगेको पनि छ। नजिकनजिक बाँकी छन्,’ उनले भने ।
प्रदेशभित्र ४ सय ४ मतदानस्थल संवेदनशील र ४ सय ५ सामान्य गरी वर्गीकरण गरिएको छ। नेपाल सरकारको निर्वाचन सुरक्षा रणनीति अनुसार प्रदेशमा सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ । तीन हजारको हाराहारीमा सशस्त्र प्रहरी र सोही संख्यामा नेपाली सेना प्रदेशमा परिचालन गरिएको छ । नेपाली सेनाले स्थलसँगै हवाई सुरक्षासमेत दिने नेपाल सेनाका प्रवक्ता नारायण सिलवालले बताए ।
‘मतपत्र छपाई, ढुवानी लगाएतको सुरक्षा हाम्रो हो। नेपाल प्रहरीलाई बाहिर घेराबाट सहयोग गर्ने हो। हवाई गस्ती पनि हुन्छ। निर्वाचनको एक महिना पहिलाबाटै हामी खटिएका छौँ । निर्वाचनको दिन पनि हाम्रो सुरक्षा हुन्छ। हवाई सुरक्षा पनि दिन्छौँ । रिजव फोर्स पनि हुन्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस