काठमाडौं । नेपालको शासकिय स्वरुप परिवर्तन भएपछिको दोस्रो पटक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा जारी छ । सर्लाहीको गोडैता र रौतहटको गुजरामा दुई पक्षबीच झडप भएको छ । गोरखा लगायतका केही जिल्लाहरुमा शंकास्पद वस्तु फेला परेका छन् । चितवन क्षेत्र नम्बर १ अन्तर्गत ब्रह्मस्थानी मतदान केन्द्रमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । अन्य स्थानमा भने मतदान शान्तिपूर्ण छ ।
मतदान केन्द्र नजिक बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ । गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो । अत्यधिक चिसोका कारण हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।
त्यस्तै, नाम्खा गाउँपालिका– ६ का तीन मतदान केन्द र वडा– ५ को मुचुमा चिसोका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ ।
राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्ताले आगो लगाउने प्रयासगरेपछि मतदान स्थगित गरिएको हो । चितवनको क्षेत्र नं. १ स्थित ब्रहमस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस