aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

निर्वाचन २०७९ सम्पन्न, कुन पार्टीले कति मत ल्याउला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ मंसिर २०७९
निर्वाचन २०७९ सम्पन्न, कुन पार्टीले कति मत ल्याउला ?

काठमाडौं ।  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान केहि स्थानमा सामान्य छिटफुट घटना बाहेक शान्तिपूर्ण  सम्पन्न भएको छ । निर्वाचन आयोगले नेपालमा गणतन्त्र स्थापना भएपछिको दोस्रो आम निर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएको छ । 

आइतबार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढेपनि मतदाताहरूको उपस्थिति कम पाएको बताए ।  

त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले पनि मतदाताहरूको उपस्थिति तुलनात्मक रुपमा कम पाएको प्रतिक्रिया दिए ।  निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए ।  आयोगले तीमध्ये कति प्रतिशत मत खस्यो भन्नेबारे आधिकारिक जानकारी दिइसकेको छैन ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरू आज रातिदेखि नै मत गणना कार्य सुरु गरिने बताएका छन् । उनले आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताए ।  

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।  निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ ।  

आम निर्वाचन–२७९ अन्तर्गत आज भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल मतदाता मध्य ७० प्रतिशतसम्मले मतदानमा भाग लिन सक्ने अनुमान निर्वाचन आयोगले गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७० प्रतिशत भन्दा पनि बढी मतदातालृ मतदान गर्ने अनुमान आफूले गरेको बताए ।

प्रतिक्रिया दिनुहोस