aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता बराबर !

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ०५ मंसिर २०७९
विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता बराबर !

काठमाडौं । नेपालमा भित्रिएको विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता लगेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (असोज) सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विदेशी लगानीकर्ताले तीन महिनामा एक अर्ब ८० करोड रुपैयाँ लाभांश लगेका हुन् । जब कि सोही अवधिमा नेपालमा केवल एक अर्ब ८८ करोड रुपैयाँको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाउँछ ।

यस हिसाबले नेपालमा भित्रिएको लगानीभन्दा फिर्ता लगेको लाभांश केवल आठ करोड रुपैयाँले मात्र कम हो, जुन लगानी र लाभांश फिर्ताको अनुपातमा अत्यन्त न्यून हो । लगानीकर्ताले तीन महिनामा लगेको लाभांश विगत दुई वर्षकै कुल लाभांशभन्दा पनि बढी हो। गत आवमा लगानीकर्ताले कुल ६५ करोड ८७ लाख रुपैयाँ मात्र लाभांश फिर्ता लगेका थिए । 

गत आवको तीन महिनामा भने २३ करोड १५ लाख रुपैयाँ मात्र लाभांश फिर्ता लगेको तथ्याङ्कले देखाउँछ । त्यसअघि आव २०७७/७८ मा लगानीकर्ताले कुल ३९ करोड ६७ लाख रुपैयाँ मात्र लाभांश लगेका थिए। सोही आवको तीन महिनामा जम्मा ५४ लाख रुपैयाँ मात्र लाभांश फिर्ता भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस