
काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उमेरले सतक पार गरेका वृद्धवृद्धाले पनि सहभागिता जनाएका छन् । पाँचथर संवाददाता सन्देश सुब्बाका अनुसार १ सय १५ वर्षीया वृद्धाले समेत मतदान गरेकी छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ की ११५ वर्षीया मनरानी आङ्देम्बेले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।
यसैगरी, इलामको फाकफोकथुम गाउँपालिका–७ सिकारी भन्ज्याङका १ सय १५ वर्षीय मानबहादुर राईले पनि मतदानमा सहभागिता जनाएका छन् । राईले सिकारी भन्ज्याङस्थित सिंहदेवी माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् । बैतडीको पाटन नगरपालिका–४ ठाँड निवासी मानमतीदेवी भट्टले पनि १ सय १३ वर्षको उमेरमा मतदान गरेकी छन् ।
उनले यसअघिका अधिकांश चुनावमा मत हालेकी छन् । बैतडीस्थित राजधानी सहकर्मी सीपी लोहियाका अनुसार २०१५ सालमा चुनाव हुँदा मानमती ४९ वर्षकी थिइन् । उनले त्यसयताका सबै चुनावमा भोट हालेको बताइन् ।
जेठो मतदाताका कारण उनी पछिल्लो समय हरेक चुनावका बेला चर्चामा आउने पात्र हुन् । उनले यो वर्ष छोरा नरेन्द्रको सहयोगमा उदयदेव आधारभूत विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
मानमती देवीले अझै विकास निर्माण भएको हेर्ने रहर राखेकी छन् । उनले भनिन्, ‘म किशोरावस्थामा भारतको लोहाघाटबाट मकै, चामल बोकेर खाएको व्यक्ति हुँ अहिले सबै ठाउँमा सडक पुगिसक्यो । हामी सल्लाको दियो बालेरै आधा जीवन कटाएका व्यक्ति हौं, अहिले घरघरमा बिजुली बत्ती पुगेको छ । ओखल–जातो गर्ने चलन हराएको छ । पहिलाको भन्दा निकै सुविधा भएकाले मैले हालेको भोटको सदुपयोग हुन्छ भन्ने लागेको छ ।’
प्रतिक्रिया दिनुहोस