aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
क्यानेडी पीआरधारी, बैंकक बस्दै समामाजिक सञ्जालको प्रयोग गर्दै करोडौं ठग्दै

क्यानेडी पीआरधारी, बैंकक बस्दै समामाजिक सञ्जालको प्रयोग गर्दै करोडौं ठग्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ बैशाख २०७६
क्यानेडी पीआरधारी, बैंकक बस्दै समामाजिक सञ्जालको प्रयोग गर्दै करोडौं ठग्दै

काठमाडौं ।  क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने ।

त्यसरी आउनेसँगै लाखौं डलर असुल्ने र थाई श्रीमतीका खातामा राख्ने ।  आठ वर्षयता बैंककमा बसेर मानव तस्करीको जालो थाप्दै सयौंसँग करोडौं रुपैयाँ ठगी गर्ने पर्शुराम गुरुङ अन्ततः थाई प्रहरीको फन्दामा परेका छन् ।

गुरुङविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी० मा मात्रै ३४ पीडितले निवेदन दर्ता गराएका छन् । ठगीमा परेर लाखौं रुपैयाँ गुमाएका दुई दर्जनभन्दा धेरै पीडित सम्पर्कमा आएका छन् । उजुरी गर्नेहरूले ५ करोड रुपैयाँभन्दा धेरै गुमाएको बताएका छन् । गुरुङको ठगीधन्दा नजिकबाट नियालिरहेका सीआईबीका एक अनुसन्धान अधिकारीका अनुसार उनले दुई सय जनाभन्दा धेरैबाट ५ करोडभन्दा बढी ठगेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

गुरुङविरुद्ध सीआईबीमा २०७२ सालदेखि नै उजुरी पर्न थालेको देखिन्छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंमा पनि दर्जनौं पीडितले निवेदन दिएका छन् । एकपछि अर्को उजुरी परेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७२ असार २९ गते गुरुङविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल० मा डिफयुजन नोटिस जारी गराएको थियो ।

उनीमाथि ठगी र मानव तस्करी दुवै आरोप छ । एक वर्षअघि सीआईबीका तत्कालीन डीआईजी पुष्कर कार्कीले काठमाडौंस्थित थाई राजदूतलाई भेटेर गुरुङको ठगी धन्दाबारे जानकारी दिएका थिए ।


गुरुङले पारस, कमल, किम, मनोज, आकाश थापामगर, अनमोल लामाजस्ता दर्जनौं नाममा फेसबुक अकाउन्ट चलाएका छन् । फोटोसपमा पोख्त उनले क्यानडाको पीआर भएको नक्कली कार्ड बनाएका छन् । क्यानडाकै चर्चित पाँचतारे होटलको मानव संसाधन विभागको प्रमुख भएको नक्कली परिचयपत्र पनि बनाएका छन् । उनी जागिरको खोजीमा रहेका वा विदेश जान रुचि भएका मान्छे पत्ता लगाएर त्यस्तालाई फेसबुकबाट कर्मचारी आवश्यकतासम्बन्धी नक्कली विज्ञापनको फोटो पठाउँछन् ।

कान्तिपुरको सम्पर्कमा आएका दर्जनभन्दा धेरै पीडितले गुरुङलाई फेसबुकबाटै चिनेको बताए । धेरैजसोलाई क्यानडा, कसैलाई अमेरिका त कसैलाई मकाउ पुर्‍याएर जागिर लगाइदिने र त्यसबापत १० देखि १५ लाख रुपैयाँ लाग्ने बताएको देखिन्छ । पत्याउने सबैलाई उनले खर्चबापतको रकम डलरमा सटही गरेर बैंकक बोलाउने गरेको देखिन्छ । गुरुङमाथि अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार उनी मानव तस्करी, ठगी र अवैध विदेशी मुद्रा ओसारपसार तीनै अपराधमा संलग्न छन् । कान्तिपुर दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस