तनहुँ– । तनहुँ–१ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेले २५ हजार ३१८ मत ल्याएर तनहुँ–१ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।
पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए । रामचन्द्र पौडेल प्रधानमन्त्री पदका लागि अब तयारी गर्छन् कि गर्दैन भन्ने प्रश्न खडा भएको छ । उनले गत भदौमा तनहुँमा नै एक कार्यक्रमलाई सम्बोधन गर्दै चुनावपछि प्रधानमन्त्रीमा हुने इच्छा देखाएका थिए ।
गृह जिल्ला तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिन आफ्नो भूमिका देशले खोजेको बताएका थिए ।
स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस