aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सर्वोच्चको फैसलाले घट्ने भयो एनसेलको कर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
सर्वोच्चको फैसलाले घट्ने भयो एनसेलको कर

काठमाडौं । १२औं पटकको सेयर बिक्रीपछि लाग्ने पुँजीगत लाभकर तिर्न आनाकानी गर्दै आएको एनसेलकै मागअनुसार सर्वोच्च अदालतले फैसला सुनाएको छ। 

पाँच न्यायाधीशको बृहत् पूर्ण इजलासले गरेको फैसलाको निर्णय सोमबार सुनाउँदै सर्वोच्चले ठूला करदाता कार्यालयले यसअघि गरेको कर निर्धारणलाई बदर गरिदिएको छ। अब ठूला करदाता कार्यालयले पुनः नयाँ कर निर्धारण प्रक्रिया अघि बढाउनुपर्ने छ।

'निवेदकलाई आयकर ऐनको दफा १२० (क) बमोजिम लगाएको शुल्क उक्त दफाको विपरीत देखिंदा सो हदसम्म ठूला करदाता कार्यालयको मिति २०७६/०१/०३ को कर निर्धारण आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ,' सर्वोच्चको फैसलामा भनिएको छ। 

ठूला करदाता कार्यालयले गत वैशाख ३ गते ऐनको दफा १२० (क) बमोजिम शुल्कबापतको १८ अर्ब ३३ करोड रुपैयाँसहित ६२ अर्ब ६३ कारोड रुपैयाँ कर निर्धारण गरेको थियो । ६२ अर्ब ६३ करोडमध्ये एनसेलले पहिल्यै २३ अर्ब ५७ करोड रुपैयाँ कर तिरिसकेको छ । बाकी ३९ अर्ब ६ करोड कर बुझाउनुपर्नेमा एनसेलले कर निर्धारणप्रति चित्त नबुझेको भन्दै सर्वोच्चमा मुद्दा दायरा गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस