aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

‘गौशाला धर्मशाला भाडामा लिई संचालन गरेको होइन, हामी यस जग्गाको मोही हौ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
‘गौशाला धर्मशाला भाडामा लिई संचालन गरेको होइन, हामी यस जग्गाको मोही हौ’

मारवाडी सेवा समिति नेपालले यस गौशाला धर्मशालालमा विगत ८२ वर्षदेखि निरन्तर रुपमा अत्यन्त तदारुकताका साथ विभिन्न सेवाकार्यहरु गर्दै आइरहेको छ । साथै यस गौशाला धर्मशाला अन्तर्गत संचालित मारवाडी सेवा ग्राम गौधाम धार्केमा गौधाम रेखदेख समितिले थारा बुढीगाईहरु तथा बाच्छा बाच्छीहरुको रेखदेख एवं यस गौशालामा रहेका गाईहरुका लागि हरियो घाँसको उत्पादन गरी उल्लेखनीय कार्य गर्दै आइरहेको छ ।

म यो गौशाला धर्मशालाको बारे केही जानकारी गराउन चाहन्छु । यो गौशाला धर्मशालाको आफैँमा एउटा इतिहास रहेको छ, यो गौशाला धर्मशालाको नामले नै यो क्षेत्रको नाम गौशाला चोक रहेको छ, यो गौशाला धर्मशाला पुरातात्विक इतिहास बोकेको संस्था हो ।

वि.सं. १९९० सालमा विनासकारी महाभूकम्प गएको घडीमा मारवाडी समाजले समाज सेवामा पु¥याएको योगदान, भूकम्प पीडितहरुलाई घर–घरबाट खाना पकाएर टुँडिखेलमा ल्याई खाना वितरण तथा लत्ताकपडा र ओढ्ने ओछ्याउने तथा मृत्यु भएकाहरुको दाह–संस्कार लगायत विभिन्न सेवामूलक कार्य गरेको तथा त्यस समयमा काठमाडौंमा थारा गाई, साँढे इत्यादीको संरक्षण, हेरचाह गर्न एवं सेवाकार्यहरु गर्न, श्री पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालुहरुको बसोबासको कुनै भरपर्दो व्यवस्था नभएको अवस्था मनन गरी गौशाला एवं धर्मशालाको स्थापना गर्न मारवाडी समाजले ज्ञानेश्वरमा जग्गाखरिद गर्न लागेको कुरा तत्कालिन प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर ज.ब.रा.ले थाहा पाई वि.सं. १९९७ सालमा आजभन्दा ८२ वर्ष अगाडि मारवाडी समाजका रामकुमार मारवाडी लगायतका व्यक्तिहरुलाई बोलाई पशुपति मन्दिर नजिकै गौशाला तथा धर्मशाला बनाई संचालन गर्न तथा विभिन्न सेवाकार्यहरु गर्न वर्तमान गौशाला धर्मशालाको जग्गा मारवाडी समाजलाई उपलब्ध गराईएको हो ।

सोही बेला देखि नै मारवाडी समाजका महानुभावहरुले आफ्नो व्यवसायको केही अंश चन्दा स्वरुप प्रदान गरी यस पशुपति गौशाला धर्मशालाको निर्माण गरी गाई गोठ तथा आफ्ना पूर्वजहरुको स्मृतिमा कोठा, हल एवं मन्दिर निमार्ण गर्ने कार्य भएको हो ।

गौशाला धर्मशालाबाट श्री पशुपतिनाथको अभिषेकका लागि दैनिक उनन्तिस  लिटर दूध पठाउने गरिएको छ । यस श्री पशुपति गौशाला धर्मशाला भित्र हाल गौ सेवा, निःशुल्क शव वाहन सेवा, शव राख्ने फ्रिज सेवा, विगत २०५७ सालदेखि निरन्तर रुपमा निःशुल्क कृत्रिम खुट्टा वितरण गर्दै आएको र हालसम्म करीब ५५०० जनालाई उक्त सेवा दिईएको जानकारी गराउदछु ।

धर्मशालामा बस्न आउने यात्रुहरुलाई सहुलियत दरमा आवासको व्यवस्था, सहुलियत दरमा शुद्व शाकाहारी (निरामिष) भोजनालय तथा होमियोप्याथिक पद्दतीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, हरेक शनिबार ४÷५ सय जति असहायहरुलाई निःशुल्क भोजनको व्यवस्था गरिँदै आएको छ । हाम्रो मारवाडी समाजले पशुपति आर्यघाटमा वेवारिसे तथा असहायहरुको शव दाहमा सहयोग गर्दै आएको छ, सो सम्बन्धमा हालसम्म करीब ५००० शव दाह गरिसकेको समेत जानकारी गराउन चाहन्छु ।

साथै विगत लामो समयदेखि समाजबाट पशुपति क्षेत्रमा पिउने पानीको व्यवस्था हुँदै आएको छ । यस धर्मशालामा मारवाडी समुदायका सदस्यहरुको सहयोगमा करिब १२ करोडको लागतमा ३० बेडको सुविधा सम्पन्न डायलाइसिस सेवा शुरु भई यस सेवाबाट दैनिक १२० जनाले निःशुल्क डायलाइसिस सेवा पाउने गरेको र मारवाडी सेवा समिति नेपालले अन्य धेरै प्रकारका सेवाहरु प्रदान गर्दै आइरहेको जानकारी गराउँदछु । साथै यस गौशालामा हाल दुहुना गाई तथा बाच्छा बाच्छी समेत गरी २१७ वटा रहेको छ ।

मारवाडी सेवा समिति नेपालबाट संचालन भई आएको यस श्री पशुपति गौशाला धर्मशाला मोही रहेको यो जग्गाको तिरो पशुपति अमालकोट कचहरीलाई तिर्दै आएको र पशुपति अमालकोट कचहरीबाट नक्सापास सिफारिस भई काठमाडौं नगरपालिकाबाट नक्सापास भए बमोजिम निर्माण भएकको हो ।

मिति २०६०।१२।२ मा मारवाडी सेवा समिति नेपाल र श्री पशुपति क्षेत्र विकास कोष बीच आपसी सहयोगको सम्झौता भएको थियो, सो सम्झौता ठिक नभएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरे पश्चात सम्मानित विशेष अदालतमा मुद्दादायर भएकोमा सम्मानित विशेष अदालतले २०६०।१२।२ मा भएको सम्झौतालाई सदर गर्दै फैसला गरे पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा सम्मानित विशेष अदालतले गरेको फैसलालाई सम्मानित सर्वोच्च अदालतले सदर गरेको र मारवाडी सेवा समिति नेपालले आफूले सम्झौता बमोजिमको बुझाउनु पर्ने सहयोग रकम आ.ब. ०७९।०८० सम्मको बुझाइसकेको जानकारी गराउन चाहन्छुु ।

मारवाडी सेवा समिति नेपालबाट विभिन्न सेवाकार्य भई संचालनमा रहेको यस पशुपति गौशाला धर्मशालाको भाडा बढाइदिनु प¥यो भनी बेला बेलामा पशुपति क्षेत्र विकास कोषबाट कुरा आउँदा यो पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समिति नेपालले पशुपति क्षेत्र विकास कोषसँग भाडामा लिई संचालन गरेको होइन, हाम यस ी जग्गाको मोहीभएको कुरा बताउँदै आएको र सो कुराको प्रमाण २०२१ सालको नापी, मालपोतको श्रेस्ता र २०४४ सालको नापीको फिल्डबुक, मालपोतको श्रेस्ता, गुठी संस्थानको श्रेष्ता र पशुपति विकाश कोषको मोही लगत नम्बर ८३७ मा जनिए बमोजिमको हालसम्मको बालीवापतको रकम आ.ब. ०७९।०८० सम्मको तिरो बुझाइसकेका छौँ ।

यति सबै प्रमाण हुँदा हुँदै पनि विकाश कोषले पटक पटक पत्र पठाउने, दिई आएको सहयोग रकमलाई भाडा भन्ने, अनि सँधै भाडा बढाइदिनु पर्यो भन्ने गरेकोमा हामीले हालसम्म भाडावापत कुनै रकम नदिएको र सम्झौता बमोजिमको सहयोग रकम मात्र दिएको कुरा अवगत गराउन चाहन्छौँ । पशुपति क्षेत्र विकास कोष जग्गा धनीभएको अन्यकुनै पनि मोहीले हालसम्म सहयोग रकम नबुझाएको सन्दर्भमा २०६० सालमा भएको सम्झौता बमोजिम दिने सहयोग रकम हामीले पशुपति क्षेत्र विकास कोषलाई प्रतिवर्ष ५१ हजारका दरले बुझाउदै आएका छौं ।

बि.सं. १९९७ सालमा नक्सापास गराउने कुनै प्रावधान नै नभएको बेलामा बनेको संरचनाको मात्र नक्सापास नभएको, सो को प्रमाण नापीनक्शाको ब्लु प्रिन्टमाभएको, नक्सापास नियमलागु भए पछिको नियम अनुसार पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभागको सिफारिसमा तत्कालिन काठमाडौं नगरपालिकाबाट नक्सापास भएको र नक्सापास बेगर कुनै पनि संरचना निर्माण नगरेको पनि जानकारी गराउन चाहन्छु ।

सामाजिक एवं मानवीय सेवाकार्यमा अग्रणी भूमिका निभाउँदै आएको मारवाडी समाजले राष्ट्रलाई पुर्याएको योगदानको कदर स्वरुप प्राप्त भएको यस धर्मशालाको आयश्रोत पसल बहाल रकममा कानुन बमोजिम बहाल कर बुझाइबाँकी रहेको रकमतथा धर्मशालाको सेवा सहयोग रकम र नपुग भएको रकम मारवाडी समाजबाट सहयोग उठाइ गौ सेवा तथा मानवीय सेवा गर्दै आइरहेका छौँ ।

मारवाडी सेवा समिति नेपाल, श्री पशुपति गौशाला धर्मशाला लगायत हाम्रो मारवाडी समाजबाट संचालित विभिन्न संघ संस्थाहरुले महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा लाइट तथा फूलको सजावटको व्यवस्था गर्दै आइरहेको छ । यस सँगै पशुपनिाथ मन्दिर परिसरको विभिन्न स्थानमा शिविरहरु राखी भोजन, आवास, औषधि, पिउने पानी आदिको प्रवन्ध गर्दै आइरहेको छ । श्रावण महिना भर पशुपतिनाथमा दैनिक आठ देखि दश हजार सम्मलाई पशुपतिनाथको प्रसादको रुपमा भोजन लगायतका सेवा उपलब्ध गराएको समेत जानकारी गराउँदछु ।

कोभिड–१९ को दोस्रो लहरमा देशभर अक्सिजन तथा हस्पिटलमा बेडको अभाव भई उपचार तथा अक्सीजनको अभावमा अकालमै धेरैले जीवन गुमाउने अवस्था सिर्जना हुँदा यस गौशाला धर्मशालाको पुरै भवनमा मारवाडी सेवा समिति नेपालद्वारा खाना, अक्सिजन, औषधि, ल्याव परिक्षण, दक्ष चिकित्सक, नर्स सहितको निःशुल्क आइसोलेशन संचालन गरी सेवाप्रदान गरिएको जानकारी गराउँदछु ।

कोभिडको समयमा अस्पतालहरुमा बेडको अभाव तथा गुणस्तरीय सेवा नपाउँदा धेरैले अकालमा जीवन विताउनु परेको कुरालाई हृदयंगम गरी सहुलियत, सहज र गुणस्तरको उपचार सेवा प्रदान गर्न मारवाडी समाजले करीब तीनसय करोडको लागतमा सुविधा सम्पन्न तीन सय बेडको अस्पताल निर्माण गर्न आवश्यक जग्गा नेपाल सरकारसँग लिजमा उपलब्ध गराई दिन अनुरोध गरिरहेकोे छौं ।गौशाला धर्मशाला भाडामा लिई संचालन गरेको होइन, हामी यस जग्गाको मोही हौ  (मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले पत्रकार सम्मेलनमा व्यक्त गरेका भनाईमा आधारित )

 

प्रतिक्रिया दिनुहोस