aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

सत्ता गठबन्धनले सातै प्रदेशमा सरकार बनाउन सक्छ ? यस्तो छ मत

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १२ मंसिर २०७९
सत्ता गठबन्धनले सातै प्रदेशमा सरकार बनाउन सक्छ ? यस्तो छ मत

काठमाडौं । सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ । निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि प्रदेश सभातर्फ निर्वाचित सांसद् सङ्ख्या र समानुपातिक मतका आधारमा सत्ता साझेदार दलहरूबीच संयुक्त सरकार गठन हुने देखिएको हो । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासँगै चुनावी गठबन्धनमा आएको लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गतेको निर्वाचनको नतिजाअनुसार सुविधाजनक बहुमत प्राप्त गरेका छन् । नेकपा (एमाले)ले केही प्रदेशमा प्रत्यक्ष र समानुपातिकमा अग्रता लिइरहेको छ । तर सत्ता साझेदार दलबीचको समझदारीअनुसार प्रदेश सरकार गठन हुँदा एमाले प्रतिपक्षमै बस्नुपर्नेछ । २०७८ असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि सत्ता साझेदार दलहरूको संयुक्त सरकार सञ्चालन हुँदै आएको छ ।

प्रदेश १ मा गठबन्धन अगाडि
प्रदेश नं. १ मा प्रत्यक्षतर्फ ५६ सिटमध्ये ४४ निर्वाचन क्षेत्रको परिणाम आएको छ । एमालेले २२ सिटमा जित र तीन स्थानमा अग्रता लिइरहेको छ । कांग्रेसले १३ सिटमा जित र चार स्थानमा अग्रता लिइरहेको छ । माओवादी केन्द्रले छ सिटमा जित र तीन स्थानमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीले एक सिटमा जित र दुई स्थानमा अग्रता लिइरहेको छ । समानुपातिकतर्फ एमालेले चार लाख ९५ हजार ४७२ मत पाएको छ । यस्तैगरी कांग्रेसले चार लाख २५ हजार ४७२ मत पाएको छ । राप्रपाले एक लाख ५३ हजार ५०८ मत, माओवादी केन्द्रले एक लाख ४५ हजार ३१० मत प्राप्त गरेको छ । जसपाले ४९ हजार ८६८ मत प्राप्त गर्दा एकीकृत समाजवादीले ४५ हजार ३८३ मत पाएको छ। 

मधेशमा कांग्रेसको पुनः उदय
मधेश प्रदेश सभामा प्रत्यक्षतर्फ ६४ सिटमध्ये ६१ सिटको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १३ सिट जितेको छ । एमालेको १३ मा जित र दुई सिटमा अग्रता छ । जसपाले आठ सिटमा जित र एक सिटमा अग्रता लिइरहेको छ । लोसपाले सात सिट जितेको छ । जनमत पार्टीको ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४–४ सिट जितेका छन् । सत्ता गठबन्धन समर्थितसहित छ जना स्वतन्त्र निर्वाचित भएका छन् । समानुपातिकतर्फ कांग्रेसले दुई लाख ९० हजार ७९२ मत प्राप्त गरेको छ । एमालेले दुई लाख ४७ हजार ९०, जसपाले १ लाख ९६ हजार ५१४, जनमत पार्टीले १ लाख ७८ हजार ६१, माओवादी केन्द्रले एक लाख १४ हजार ८२८, एकीकृत समाजवादीले ८४ हजार २१९ र लोसपाले ६९ हजार १०६ मत प्राप्त गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस