काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ । तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना सुरु नै हुन सकेको छैन । दोलखामा १० मतदान केन्द्रमा १५ मंसिरमा चुनाव हुँदैछ । बुथ कब्जा र धाँधली भएको भन्दै एमालेले उजुरी हालेपछि त्यहाँ पुनः मतदान हुन लागेको हो । बाजुराको बुढीनन्दा नगरपालिकामा १० मंसिरमै मतदान भइसकेको छ । अब मतगणना गर्न बाँकी छ ।
अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था देखिन्न । हंग पार्लियामेन्ट बन्ने भएको छ । निर्वाचनको प्रत्यक्षतर्फ सत्तागठबन्धनले बहुमत त ल्याएका छन्, तर समानुपातिक मतपरिणाम सार्वजनिक नभई सरकार बन्न सक्ने अवस्था छैन । तर पनि प्रमुख दलका नेताहरू प्रधानमन्त्रीको दौडमा लागेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, कांग्रेसभित्र रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, शशांक कोइराला प्रधानमन्त्रीको दौडमा छन् । बाहिर प्रकट नभए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्रीको रेसमा छन् । तर, यसपटक उनलाई त्यति सहज भने छैन । यदि कांग्रेसकै नेतृत्वमा सरकार बनेमा दोस्रो कार्यकाल आफूले पाउनुपर्ने उनको दाबी छ । तर, उनले खुला रूपमा बोलेका छैनन् ।
कांग्रेसमा प्रधानमन्त्रीका लागि खासगरी देउवा, पौडेल र थापाबीच रस्साकस्सी छ । सबै नेताले आफू निकटका सांसदहरूलाई भेट्न थालेका छन् । उनीहरूको रायसुझाव लिइरहेका छन् । कांग्रेस पहिलो दल बनेकाले संविधानअनुसार स्वाभाविक रूपमा सरकारको दाबी गर्ने पहिलो अधिकार उसकै हुन्छ । त्यही भएर पनि अन्य दलका नेताहरू अघि बढेका छैनन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त तत्काल वाम गठबन्धनको सरकार बन्न नसक्ने प्रस्ट पारेका छन् । मंगलबार पार्टी कार्यालयमा चुनावी समीक्षा बैठक सकेर बाहिर सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेकै सत्तागठबन्धनले निरन्तरता पाउने बताए । उनले दोलखा, बाजुरा, स्याङ्जामा मत गन्न बाँकी रहेकाले नयाँ सरकार गठनका लागि प्रशस्त समय रहेको बताए ।
प्रतिक्रिया दिनुहोस