काठमाडौं । ‘काठमाडौंका नदीमा पानी होइन ढल बग्छ’ यो आम बुझाइलाई परिवर्तन गर्ने प्रयास भइरहेको छ । जसका लागि उपत्यकामा बग्ने नदीहरूको पानी प्रशोधन केन्द्र निर्माण कार्य धमाधम अघि बढिरहेको छ । खानेपानी मन्त्रालय अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार हाल उपत्यकाका विभिन्न स्थानमा नदी पानी प्रशोधन केन्द्रको निर्माणको काम चलिरहेको छ ।
भक्तपुरको सल्लाघारी, ललितपुरको कोड्कु–बालकुमारी, ललितपुरकै धोबीघाटमा दुई वटा र काठमाडौँको गुह्येश्वरीमा थप एक वटा गरी सात ठाउँमा पानी प्रशोधन केन्द्रको निर्माण कार्य अघि बढेको हो । यो कार्य पुरा हुँदा ढल बग्ने खोलामा पानी बग्ने मात्र होइन लेदोबाट बिजुली बाल्ने काम समेत हुनेछ ।
खानेपानी मन्त्रालय अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयका डेपुटी प्रोजेक्ट डाइरेक्टर चन्द्र पाँ श्रेष्ठका अनुसार गुह्येश्वरी, सल्लाघारी, कोडकु (बालकुमारी), धोबिघाट गरि दैनिक कूल १३ करोड ८१ लाख क्षमताका फोहर पानी प्रशोधन केन्द्रहरूको डिजाइन ब्युल्ड एण्ड अपरेटको खरिद अवधारणामा निर्माण कार्य सुरु भएको हो । जसमा गुह्येश्वरी दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्र सञ्चालनमा आइसकेको छ ।
त्यसैगरी, सल्लाघारी, कोड्कु (बालकुमारी) र धोबीघाटमा बन्न लागेका आयोजनाको प्रगति भने २७ प्रतिशत मात्र भएको उनले जानकारी दिए । निर्माण कार्य सम्झौता भएको ५ वर्षमा २७ प्रतिशत मात्र प्रगति भएका कारण उक्त सम्झौता रद्द गरी बाँकी कार्य सम्पन्न गर्न पुनः खरिदको प्रक्रियामा रहेको समेत उनले जानकारी दिए ।
उनका अनुसार सल्लाघारीमा १ करोड ४२ लाख लिटर क्षमता ९१४.२ (एमएलडी), कोड्कु बालकुमारीमा १ करोड ७५ लाख लिटर क्षमता ९१७.५ (एमएलडी), र धोबीघाटमा ३ करोड ७० लाख लिटर क्षमता (९१.७ एमएलडी) का दुई वटा पानी शुद्धीकरण केन्द्रको निर्माण कार्यका लागि चाइनिज कम्पनी साफबोनसँग सम्झौता भएको थियो ।
त्यस्तै, धोविघाटमा बन्न लागेको ३७ एमएलडी क्षमताको प्रशोधन केन्द्रको समग्र भौतिक प्रगति ७९ प्रतिशत भएको छ । त्यस्तैगरि हनुमानघाटमा १ एमएलडी फोहोर पानी तथा गोकर्णमा ३ एमएलडी क्षमताको फोहोर पानी र १० घन मी दिशाजन्य लेदो प्रशोधन गर्न डिवाट्सको निर्माण तथा सञ्चालनको लागि डिजाइन ब्युल्ड एण्ड अपरेटको अवधारणामा निर्माण व्यवसायी सँग सम्झौता भई डिजाइनको चरणमा रहेको उनले जानकारी दिए ।
उपत्यकाका भित्री क्षेत्रका घरघरबाट निस्कने फोहोर पानीलाई नजिकैको प्रशोधन केन्द्रसम्म पु¥याउन हनुमन्तेमा २५ किमी मध्ये १६.८ किमी, मनोहरामा ११ किमी मध्ये ६ किमी र खस्यांग्सुंगमा ७.२ किमी मध्ये ७ किमी गरि नदीहरूको दुवै किनारमा करिब ४३.२ किमी ढल प्रणालीमध्ये हालसम्म करिब ३० किमी सम्पन्न गरि फोहर पानी प्रशोधन केन्द्रहरू सल्लाघारी, कोटकु (बालकुमारी)सम्म जोड्ने कार्य भएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
उपत्यकाको काठमाडौँ र ललितपुर महानगरपालिकाको मुख्य भागहरूमा वर्षायाममा हुने डुबानको समस्यालाई मध्यनजर गरि काठमाडौं र ललितपुर महानगरपालिकाले बृस्तृत अध्ययन पुरा गरि ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायर समेत वाटर लगिङ हुने क्षेत्रको २.८ किमी ढल प्रणालीको पुनर्स्थापना गर्ने कार्य भएको थियो । जसमध्ये १.१७ किमि सम्पन्न भएको छ ।
चालु आवमा नै भित्री ढलको काम सम्पन्न गर्ने लक्ष्य रहेको निर्देशनालयले जनाएको छ । बालुवाटार क्षेत्रको १.२२ किमी बर्सातको पानी व्यवस्थापन गर्ने कार्यको ०.७५ किमी निर्माण सम्पन्न भएको छ । त्यस्तै, गोकर्णेश्वर नगरपालिकाको ४ नं वडामा पनि ६.२ किमी सेवेरलाइन निर्माणको लागि खरिदको प्रक्रियामा रहेको जनाएको छ ।
गुहेश्वोरीमा फोहोर पानी प्रशोधन सँगै स्लजबाट ग्याँस उत्पादन गरी ग्याँस इन्जिन मार्फत केन्द्रलाई आवश्यक ३० प्रतिशत बिजुली उत्पादन गरिएको आयोजना कार्यालय निर्देशनालयले जनाएको छ । त्यस्तै गरी धोविघाटमा पनि स्लजबाट ग्याँस उत्पादन गरी बिजुली उत्पादन गर्ने प्रावधान अनुसार निर्माण कार्य भइरहेको छ ।
गुह्येश्वरी र धोविघाट केन्द्रमा उत्पादित लेदोबाट स्लज बायो ग्याँस निकाली क्रमशः करिब ३२० केडब्लु/एच र ६१० केडब्लु/एच बिजुली उत्पादन हुने निर्देशनालय आयोजनाका प्रोजेक्ट डाइरेक्टर श्रेष्ठले बताए ।
सल्लाघारी र कोड्कु (बालकुमारी) केन्द्रबाट उत्पादन हुने लेदोबाट बायो ग्याँस उत्पादन हुने छ । गुह्येश्वरी, सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाट केन्द्रबाट करिब ३०.२ टन दैनिक जैविक फोहोरबाट बायो सोसलिड मलको उत्पादन हुने छ । प्रशोधन इकाईहरूबाट गन्ध आउने ग्यासलाई गन्ध नआउने ग्याँसमा परिणत हुने संयन्त्र जडान गरिने हुँदा प्रशोधन केन्द्रहरूको नजिक दुर्गन्ध नफैलिने आयोजनाले जनाएको छ ।
तीव्र जनसङ्ख्या वृद्धि र बढ्दो पानीको खपतले सन् २०२० र सन् २०३० सम्म क्रमसः २३ र ४९ करोड लिटर प्रति दिन फोहर पानी उत्सर्जन हुने अनुमान गरिएको छ ।
यसलाई मध्यनजरगरी, नेपाल सरकार, खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यालय निर्देशनालय अन्तर्गत काठमाडौं उपत्यका फोहर पानी व्यवस्थापन आयोजनाबाट आधुनिक प्रविधि प्रयोगगरि विगतमा बनाइएका फोहर पानी प्रशोधन केन्द्रहरूको आधुनिकीकरण, क्षमता वृद्धि तथा विस्तार गर्ने क्रमलाई निरन्तरता दिइएको छ ।
यस्तो छ लागत र प्रगतिको विवरण
आयोजना कार्यालय निर्देशनालयका अनुसार सल्लाघारी कोड्कु र धोवीघाटको परियोजनाका लागि साफबोन वाटर सर्भिससँग सम्झौता भएको थियो । सो आयोजनाको लागत ३ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । हालसम्म २७ प्रतिशत भौतिक प्रगति भएको छ भने ९७ करोड रुपैयाँ खर्च भएको छ ।
त्यस्तै, धोविघाट पानी प्रशोधन केन्द्र निर्माणका लागि सिजिसिओसी एटिएएलजेभि कम्पनीले ठेक्का लिएको थियो । उक्त अयोजनाको लागत एक अर्ब ९६ करोड रुपैयाँ रहेको थियो । हालसम्म ७९।४० प्रतिशत भौतिक प्रगति भएको छ भने एक अर्ब एक करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ ।
त्यसैगरी, पाटन सेवेरका आयोजना निर्माणको ठेक्का लामा–शर्मा गोल्डेन गुड जेभिले लिएको थियो । सो आयोजनाको लागत ४८ करोड ७ लाख रुपैयाँ रहेको थियो । हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको छ भने ९ करोड ८ लाख रुपैयाँ खर्च भएको छ ।
गुह्येश्वरी दैनिक ३ करोड २४ लिटर पानी प्रशोधन गर्ने क्षमताको पानी प्रशोधन केन्द्र सञ्चालनमा आइसकेको छ । उक्त आयोजनाको ठेक्का भी ए टेक वावङग लिमिटेडले लिएको थियो । सो आयोजनाको लागत २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, डिवाट्स एट गोकर्ण एण्ड हनुमानघाट र बालुवाटार स्टोम वाटर म्यानेजमेन्ट निर्माणको चरणमा रहेका छन् । डिवाट्स एट गोकर्ण एण्ड हनुमानघाटको आयोजनाका लागि टिम्स बिसिपिएल जेभीसँग सम्झौता भएको छ । सो आयोजनाको लागत ७३ करोड रुपैयाँ रहेको छ । त्यसैगरी बालुवाटार स्टोम वाटर म्यानेजमेन्ट निर्माणका लागि समानान्तर ग्रुपसँग सम्झौता भएको छ । जसको लागत १० करोड रुपैयाँ रहेको छ भने भौतिक प्रगति ३० प्रतिशत भएको छ ।
प्रतिक्रिया दिनुहोस