aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अर्को वर्षदेखि मात्र हुने भयो माथिल्लो मोदी निर्माण थालनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
अर्को वर्षदेखि मात्र हुने भयो माथिल्लो मोदी निर्माण थालनी

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ४२ मेगावाटको माथिल्लो मोदी जलविद्युत् आयोजनाको बोलपत्र लगायत सम्पूर्ण काम सकेर आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने भएको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन लगायत काम सम्पन्न भएकाले आयोजनाले बोलपत्रको लागि आवश्यक कागजात तयार पारेर ठेक्का प्रक्रिया अघि बढाउन लागेको छ।

माथिल्लो मोदी जलविद्युत् आयोजनाका आयोजना प्रमुख सूर्यप्रसाद पौडेलले परामर्शदाता कम्पनी एएफ इंटेको जेभीले गत अगस्टमा डिपिआर तयार पारेर आयोजनालाई हस्तान्तरण गरिसकेको बताए। 'भखर डिपिआर पाएका छौ। अहिले हामीले डिपिआरबारे अध्ययन गरिरहेका छौं,' उनले भने, 'चालु आर्थिक वर्षमा बोलपत्रको लागि आवश्यक डकुमेन्ट तयार पारेर आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने योजना बनाएका छौं ।'

परामर्शदाता कम्पनीले १८ महिना लगाएर आयोजनाको डिपिआर तयार पारेको हो । उक्त डिपिआर तयार गर्न भ्याटसहित १४ करोड रूपैयाँ लागेको छ। माथिल्लो मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्छ। यो आयोजनाको पानी उपयोग गरेर क्यासकेड आयोजनाको रूपमा १८.२ मेगावाट थप बिजुली उत्पादन गरिने छ। 'परामर्शदाता कम्पनीको अध्ययनले बिजुली निकाल्न उपयुक्त भएको ठहराएको छ,ु उनले भने, 'यो आयोजना रन अफ दी रिभर प्रकृतिको हो। ४२ मेगावाटको पानीलाई फेरि सुरुङमार्फत लगेर क्यासकेड आयोजनाबाट १८.२ मेगावाट बिजुली निकाल्नेछौँ ।' 

'क्यासकेड आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन पूरा हुन बाँकी छ।  ४२ मेगावाटको लागि अन्नपूर्ण गाउँपालिका वडा नं १० स्थित धान्दुकको स्याउलीबजारमा ड्याम निर्माण गरिनेछ। क्यासकेड आयोजनाको ड्याम वडा नं ११ को न्युब्रिज भन्ने ठाउँमा निर्माण गरिने आयोजनाले जनाएको छ। दुवै आयोजना सम्पन्न गर्न १३ अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। आयोजनाले हालसम्म १५७ रोपनी जग्गा, घरटहरा, रुखविरुवा लगायतको मुआब्जा वितरण गरिसकेको छ। आयोजनाको लागि अझै पनि केही जग्गा अधिग्रहण गर्न बाँकी छ,' उनले भने, 'अहिले जग्गाको लगत संकलन भइरहेको छ। केही समयभित्रै बाँकी रहेको जग्गाको पनि मुआब्जा दयाउनेछौं।' 

सरकारले यो आयोजनाको लागि हालसम्म ३२ करोड रूपैयाँ खर्च गरिसकेको छ। चाल आर्थिक वर्षको लागि २० करोड रूपैयाँ विनियोजन गरेको छ। माथिल्लो मोदीबाट वार्षिक २०८.७२ गिगावाट उत्पादन गर्न सकिनेछ। हिउदमा भने २७.१२ गिगावाट बिजुली उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ। आयोजना निर्माणस्थल पुग्ने पहँचमार्ग तयार भइसकेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस