
काठमाडौं । गएको चैत १७ गते बारा र पर्साका केही निश्चित क्षेत्रमा आएको टोर्नाडोपछि मौसमी भविष्यवाणी र पूर्वचेतावनीमा नेपाल कति कमजोर छ भन्ने स्पष्ट भयो र बहस पनि सघन हुँदै छ ।
त्यस घटना टोर्नाडो हो वा हावाहुरी भन्ने खुट्याउन नेपाली वैज्ञानिकलाई केही दिन लाग्यो । त्यसपछि नेपालको मौसम पूर्वानुमानको स्तरबारे चर्चा सुरु भयो । केही वर्ष पहिलेसम्म मौसमको जानकारी पाउन सर्वसाधारण धेरैले आकाशतिर आँखा लगाउँथे तर हिजोआज मोबाइल एप्सतिर धेरैको आँखा जान्छ ।
हवाइ उडान, कृषि, स्वास्थ्य सेवादेखि आम मानिसका दैनिकीमा मौसमी सूचना महत्वपूर्ण मानिन्छ । नेपालमा सर्वसाधारणलाई मौसमबारे जानकारी दिन थालेको ५० वर्ष पूरा भए पनि प्रविधि र जनशक्तिका हिसाबले हामी निकै पछाडि रहेको जानकारी सार्वजनिक हुँदै छ ।
छिमेकी मुलुक आफ्ना विकास कार्यक्रमका लागि एक वर्ष अघि नै मौसमको पूर्वानुमान गर्न सक्षम भइसक्दा पनि नेपाल अझै जनशक्ति र प्रविधिका हिसाबले पुरातन र चुनौतीपूर्ण अबस्थामा रहेको नेपाली मौसमविद्हरू बताउँछन् ।
दैनिक कामका साथै योजनावद्ध विकासका कार्यक्रममा समेत मौसम पूर्वानुमान अनिवार्य छ । विद्युत् उत्पादन, कृषि उत्पादनजस्ता विकासजन्य काममा मात्र हैन स्वास्थ्य, पर्यटन, शिक्षा, रोजगारीका अवसरमा समेत मौसम अध्ययनको प्रयोग बढ्न थालेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा एग्रोमेट्रो अवधारणामा काम सुरु भएको विज्ञ रामेश्वर रिजालको भनाइ छ ।
उहाँका अनुसार मौसम पूर्वानुमानकै सहयोगले सुक्खा र बाढी सहन सक्ने धान, मकै, गहँ तथा तरकारीको बिउको जातको आविष्कार गरिएको छ । “विषादी तथा मलको प्रयोग, सिँंचाइको प्रयोग र बाली लगाउने र भित्र्याउने काम पनि मौसमको पूर्वानुमानकै आधारमा किसानले गर्छन् ,” उहाँको भनाइ छ । गोरखापत्र दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस