काठमाडौं । तराईलाई संघीय राजधानीसँग जोड्ने बहुप्रतीक्षित काठमाडौं-तराई द्रुतमार्ग निर्माण सुरु भएको दुई वर्षको अवधिमा करिब ८ प्रतिशत मात्र काम सकिएको छ।
नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको यो आयोजनाको कोरियाली सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार हालसम्म ८ प्रतिशत काम सम्पन्न भएको हो ।
डीपीआरबिना नै सेनाले हालसम्म काम अगाडि बढाइरहेको थियो। चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य साथ सेनाले ०७४ साउनबाट द्रुतमार्ग बनाउने काम सुरु गरेको हो । तर, डीपीआर तयार पार्न समय लाग्दा सोचेअनुसार प्रगति नभएको सडक निर्माण आयोजना लेनडाँडाका प्रमुख तथा सेनानी विनोद
श्रेष्ठले बताए। डीपीआर स्वीकृत भएसँगै तोकिएको समयभित्रै काम सक्नेगरी सेना अघि बढ्ने उनले जनाए। फास्ट ट्रयाक पूरा गर्न एक खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ। आर्थिक वर्ष ०७५/७६ मा संघीय सरकारले विनियोजन गरेको कुल बजेटमध्ये ९६ प्रतिशत खर्च भइसकेको जानकारी दिए । गतवर्ष द्रुतमार्गका लागि संघीय सरकारले पाँच अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको थियो।
नयाँ डीपीआरअनुसार अब तीनवटा सुरुङ निर्माण हुने छन् । यसअघि सेनाले निर्माण सुरु गर्दा दुइटा मात्र सुरुङमार्ग हुने उल्लेख थियो। एसियाली विकास बैंकले गरेको विस्तृत सम्भाव्यता अध्ययनमा ललितपुर महादेवडाँडाधोद्रे खोलामा ३.३ किलोमिटर सुरुङ बन्ने बताइए पनि कोरियाली कम्पनीले तयार पारेको डीपीआरमा दुइटा सुरुङ थप भएको हो । नयाँ डीपीआर अनुसार तीन किमि लम्बाइको थप दुइटा सुरुङमार्ग निर्माण हुने भएका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस