aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

समानुपातिकमा मत हाल्न लगाएर ४० दलले जनताको भोट खेर फाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ मंसिर २०७९
समानुपातिकमा मत हाल्न लगाएर ४० दलले जनताको भोट खेर फाले

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ ।    

प्रतिनिधिसभाको मतपरिणाम अन्तिम चरणमा पुगेपछि दलहरूमा समानुपातिक सांसदको हिसाब किताब हुन थालेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६२ स्थानको नतिजा सार्वजनिक भइसकेको छ भने अहिले बाजुरा, दोलखा र स्याङ्जा–२ मा मतगणना जारी नै छ ।   

समानुपातिकतर्फ हालसम्म १ करोड ३ लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको निर्वाचन आयोगको अद्यावधिक तथ्याँकमा उल्लेख छ ।  

आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार प्रत्यक्षतर्फ हाल सम्म ५५ वटा सिटमा विजयी हासिल गर्दै पहिलो दल बनेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने २६ लाख ४४ हजार २४१ मत ल्याएर दोस्रो स्थानमा छ ।   

त्यस्तै समानुपातिकमा सबै भन्दा धेरै २७ लाख ७३ हजार ९ सय ९९ मत ल्याएर देशकै पहिलो दल बनेको नेकपा (एमाले)ले प्रत्यक्ष प्रणालीतर्फ भने ४४ सिट जितेर दोस्रो दल बनेको छ ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रत्यक्षतर्फ १७ सिटमा जितेर तेस्रो दल बनेको भने समानुपातिकतर्फ पनि ११ लाख ६१ हजार २ सय ५६ ल्याएर तेस्रो स्थानमै रहेको छ । 

यता केही समय अघि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि समानुपातिकतर्फ ११ लाख १९ हजार ९ सय ९६ मत ल्याएर चौँथो स्थानमा छ भने प्रत्यक्षतर्फ चाँही ७ सिट जितेर सातौँ स्थानमा छ । 

प्रत्यक्ष प्रणालीतर्फ १० सिटमा जितेर चौँथो स्थान बनाएको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)ले भने समानुपातिकतर्फ थ्रेसहोल्ड पनि कटाउन सकेको छैन । यसले समानुपातिकतर्फ जम्मा २ लाख ९४ हजार ६३ मत ल्याएको छ । 

जबकि समाजवादी भन्दा साना दल राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले प्रत्यक्षमा ७ सिट, र जनमत पार्टीले १ सिट मात्र जितेका छन् । तर, उनीहरुले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका छन् । 

समानुपातिकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार नौ सय २१ मत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार नौ सय ३१ मत, र जनमत पार्टीले ३ लाख ९४ हजार तीन सय ४५ मत ल्याएर थ्रेसहोल्ड कटाएका हुन् । 
 
दलले राष्ट्रिय पार्टीको मान्यता पाउनको लागि प्रचलित निर्वाचन कानूनमा समानुपातिक प्रणालीमा कुल सदर मतको न्यूनतम ३ प्रतिशतसम्म मत ल्याउनु पर्ने वाध्यात्मक व्यवस्था छ ।   

अहिलेसम्मको मतपरिणामलाई हेर्ने हो भने नेपालका ७ वटा दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाउने देखिन्छ । 
   
३ प्रतिशतभन्दा कम आएको समानुपातिक मत खेरै जाने कानूनी व्यवस्था रहेको छ । प्रतिनिधिसभामा समानुपातिक तर्फका ७ वटा दलले राष्ट्रिय पार्टीको मान्यता पाउँदा ४० दललाई मतदाताले दिएको मत खेर जाने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस