ललितपुर । बी एण्ड बी अस्पतालले पत्रकार र परिवारलाई उपचारमा छुट दिने सम्बन्धी पत्रमा हस्ताक्षर गरेको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा बी एण्ड बी हस्पिटलले पत्रकारलाई छुट दिने योजनामा हस्ताक्षर गरेको हो । छुट योजनाका लागि शुक्रबार पत्रकार महासंघ ललितपुर शाखा र अस्पताल व्यवस्थापनबीच सम्झौता भएको छ ।
सम्झौतामा पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपाने र बी एण्ड बी अस्पतालका कार्यकारी निर्देशक डा निरजलाल वैद्यले हस्ताक्षर गरेका हुन् ।देशभरका सबै पत्रकालाई उपचार तथा औषधीमा १५ प्रतिशत छुट दिने सम्झौता अस्पतालले गरेको छ । यसमा ओपीडी परीक्षणदेखि आकस्मिक उपचार, शल्यक्रियासम्म पर्ने कार्यकारी निर्देशक वैद्यले जानकारी दिए ।
पत्रकारलाई मात्रै नभएर आश्रित परिवारलाई पनि छुट सुविधा लागू हुने सम्झौतामा उल्लेख छ । आश्रित परिवारका रुपमा आमा, बुबा, श्रीमान, श्रीमती र २ जना छोराछोरी गरी ६ जनाको उपचारमा छुट सम्झौतामा उल्लेख छ ।
अस्पतालका अनुसार केही निश्चित उपचारमा भने यो लागू हुने छैन। पीसीआर परीक्षण, अस्पतालले छुट दिएर सञ्चालन गरिरहेका परीक्षण प्याकेजहरु, परीक्षणका लागि विदेशमा पठाउनु पर्ने भएमा, अप्रेसनका लागि प्रयोग हुने सामग्री आदिमा १५ प्रतिशत छुटको नियम लागू हुँदैन ।
देशभर रहेका पत्रकार महासंघ सबै सदस्यले यो सुविधा पाउने पत्रकार महासंघ ललितपुरका सचिव रामहरि कार्कीले जानकारी दिए। राज्यको चौथो अंगको उपमा पाएका पत्रकारहरुसँग सहकार्य गर्न पाउँदा खुसी लागेको प्रमुख प्रशासक प्रकाश भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस