aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

कर्मचारी समायोजनले बनायो गाउँपालिका नै रित्तै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
कर्मचारी समायोजनले बनायो गाउँपालिका नै रित्तै

रूकुमपूर्व । यतिबेला जिल्लास्थित पुथा उत्तरगङ्गा गाउँपालिका कर्मचारीविहीन बनेको छ । समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो । एकसठ्ठी जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी छन् । क्षेत्रफलका हिसाबले जिल्लाको सबैभन्दा ठूलो सो स्थानीय तहमा १४ वडा छन् । 

जहाँ एक वडामा पनि वडासचिव छैनन् । सबै वडा खाली छन् । गाउँपालिकामा पहिले एक मात्र वडासचिव रहेका र एक जनाले वडा नं १० र ११ मा काम गर्दै आएका थिए । भएका एक सचिव पनि समायोजन भएर गएपछि गाउँपालिका नै वडासचिवविहीन बनेको हो । सडकको विस्तार नभइसकेको सो गाउँपालिकाको एउटा वडा कार्यालयबाट अर्को वडा कार्यालयमा पुग्न एकदेखि दुई दिन लाग्ने गर्दछ । भएका कर्मचारी पनि समायोजन भएर गएको तर समायोजन भएर गाउँपालिकामा कोही नआएको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले बताए । गाउँपालिकामा कर्मचारीको खडेरी भएपछि कार्यसम्पादनमा अफ्ठ्यारो भएको उनले बताए । 

कर्मचारी नभएपछि अहिले वडा कार्यालयमा वडा सचिवको काम स्वास्थ्यचौकी ईन्चार्ज मार्फत भईरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताइन् । साविकका गाविसमा रहेका स्वास्थ्यचौकी ईन्चार्जले साविकका गाविसअन्तर्गत अहिले जती पनि वडा समेटिएका छन् तीनै वडा हेर्ने जिम्मा दिइएको उनले जानकारी दिइन् । साविकका छ वटा गाविस मिलेर बनेको गाउँपालिकामा छ स्वास्थ्यचौकी रहेका र छ जना स्वास्थ्यचौकी ईन्चार्जले वडा सचिवको काम गरिरहेका उपाध्यक्ष शाहीले बताइन ।

प्रतिक्रिया दिनुहोस