
काठमाडौं । कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले गरेको गोलले अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।
अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल हो । यस्तै मेस्सीको यस खेल करियरको १००० औं खेल हो ।
खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २(० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २–१ ले विजयी भयो ।
जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सको सामना गर्नेछ। नेदरल्यान्ड्स यस अघि नै अमेरिकालाई हराएर क्वाटरफाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस