aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

मालबासेको यो बीसघुम्ती सडक, बिर्साउँछ सेल्फीडाँडा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, १८ मंसिर २०७९
मालबासेको यो बीसघुम्ती सडक, बिर्साउँछ सेल्फीडाँडा

काठमाडौं । राजनीतिक र बौद्धिक क्षेत्रमा सशक्त रहेर पनि भौतिक पूर्वाधारमा पछि परेको भोजपुरलाई केही वर्ष अघिसम्म विकासमा पछि परेको कर्णाली क्षेत्रसँग तुलना गरिन्थ्यो । त्यही भोजपुर अहिले सडक पूर्वाधारको एउटा सूचकमा पहिलो स्थानमा पुगेको छ । 

सडक पूर्वाधारले देशका अन्य भागसँग भोजपुर नजोडिएको बेला भोजपुरकै व्यवसायी श्याम श्रेष्ठले २०६५ सालमा भरियालाई बोकाएर ट्याक्टर र नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ म्याक्स ट्याक्सी पुर्‍याएका थिए । तत्कालीन ग्रामीण सडक परियोजनाअन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनिएको थियो । त्यसपछि मात्र लेगुवा–भोजपुर सडकको ट्र्याक खोलिए पनि अरुण नदीमा पुल नहुँदा २०५६ देखि खन्न थालिएको सडक पूरा भएको थिएन । त्यसयता भोजपुरको सडक पूर्वाधार सञ्जाल गाउँगाउँमा विस्तार भइसकेको छ । हाल भोजपुर नगरपालिका–१२ टक्सार, मालबासेमा बनेको सडक देशकै सबैभन्दा बढी घुम्ती भएको सडकमा परेको छ । 

सडक विभागका महानिर्देशक अर्जुन थापाका अनुसार हालसम्म कुनै सडकको एकै स्थानमा रहेका धेरै घुम्तीमा बनेपा–सिन्धुली–बर्दिबासको सिन्धुलीभन्दा माथिको सेल्फीडाँडामा १३ घुम्ती रहेका थिए । अहिले भोजपुर बजारबाट पिखुवापारिका गाउँ जोड्ने सडकखण्डका घुम्तीले त्यसलाई जितेको छ । उक्त सडकमा एकै ठाउँ २० घुम्ती रहेका छन् । महानिर्देशक थापाका अनुसार त्रिभुवन राजपथको मकवानपुरको भैँसेदेखि माथि कालीटार क्षेत्रमा १२ घुम्ती छन् । त्यहाँ एउटा घुम्तीबाट अर्को घुम्ती छर्लङ्ग देखिन्छ । बीपी राजमार्गको सेल्फीडाँडा क्षेत्रमा लगातार १३ वटा घुम्ती छन् । उक्त स्थान यात्रुका लागि फोटो खिचाउन प्रख्यात छ । 

बीस घुम्ती सडकले त्यत्रो चर्चा नपाए पनि स्थानीयको जनजीवन ज्यादै सहज बनाइदिएको छ । बिहान भाले बास्दै गर्दा टक्सारको टकटक आवाजसँगै पिखुवाखोलाबाट मालबासेको उकालो लाग्ने भोजपुरका दक्षिणी क्षेत्रका बासिन्दा अहिले गाडीमा हुइँकिन्छन् । जिल्लाका मानेभञ्ज्याङ, बैकुण्ठे तथा रामप्रसाद राई, हतुवागढी, आमचोक गाउँपालिकाका स्थानीय २०७० सालभन्दा अघिसम्म पिखुवाको उकालो पसिना काढ्दै हिँड्न बाध्य थिए । 

स्थानीय किशोर शाक्यका अनुसार पिखुवा–मालबासेको उकालो धाएर यशोधरा माध्यमिक विद्यालय पढ्नुभएका विद्यार्थीमा राष्ट्रपति विद्यादेवी भण्डारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई पनि छन् ।   

प्रतिक्रिया दिनुहोस