aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

बेलायतमा ७२ प्रतिशतले बढ्यो नेपालीको संख्या

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, १८ मंसिर २०७९
बेलायतमा ७२ प्रतिशतले बढ्यो नेपालीको संख्या

काठमाडौं । बेलायतमा नेपालीको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स (ओएनएस)ले  सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्यांकलाई सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो ।

सिएनएस युकेका अनुसार इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ । यद्यपि यस तथ्याङ्कलाई ओएनएसले आधिकारिक पुष्टि गर्न बाँकी नै छ ।

यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र रहेको थियो । एक दशकमा ती दुई मुलुकहरूमा नेपालीहरूको संख्या ७२.५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको सिएनएसका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तथ्याङ्कअनुसार रसमोर नेपालीको सबैभन्दा बाक्लो बसोबास रहेको क्षेत्र कायमै रहेको छ जहाँ नेपालीको जनसंख्या १० हजार ५७५ पुगेको छ । सन् २०११ को जनगणनामा रसमोरमा ६ हजार १३१ नेपाली थिए । 

त्यसपछि दक्षिण पूर्वी लण्डनको ग्रीनीच नेपालीको दोस्रो घना बस्ती रहेको क्षेत्रमा कायमै छ जहाँ नेपालीको संख्या ७ हजार ६४९ रहेको छ । सन् २०११ को जनगणनामा त्यहाँ ५ हजार ४०७ नेपाली रहेको तथ्यांक थियो ।    

प्रतिक्रिया दिनुहोस