aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पतञ्जलिका आचार्य बालकृष्ण बाल–बाल बचे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
पतञ्जलिका आचार्य बालकृष्ण बाल–बाल बचे

विषाक्त पेडा खाएका कारण अघिल्लो हप्ता अस्पताल भर्ना गरिएका पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण एउटा गम्भीर षड्यन्त्रबाट जोगिएको नेपालस्थित पतञ्जलिका उनी निकट एक अधिकारीले बताएका छन्।

आफ्ना निकट मित्र भारतीय योगगुरू रामदेवसँग मिलेर आयुर्वेद र दैनिक उपभोग्य समाग्रीको उत्पादनलाई भारत र अन्तर्राष्ट्रिय स्तरमा बिस्तार गरिरहेका आचार्य बालकृष्णलाई फोर्ब्स पत्रिकाले विश्वकै ३६५ औँ धनी व्यक्ति भनेको छ। पतञ्जलिमा ९८ दशमलब ६ प्रतिशत सेयर रहेका भनिएका उनको कुल सम्पत्ति ४ दशमलब ८ अर्ब डलर रहेको आकलन गरिएको छ। तर गत शुक्रवार विषादी मिसिएको मिठाई खाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले उनलाई अकस्मात् अस्पतालमा भर्ना गरिएको थियो।

एकाएक समस्या

स्वास्थ्य अवस्थामा सुधार भएपश्चात् उनी नियमित काममा फर्किए पनि पतञ्जलिआवद्ध उच्च अधिकारीहरूले बालकृष्णको स्वास्थ्यमा अचानक देखिएको समस्यालाई षड्यन्त्रका रूपमा हेरिरहेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि आचार्य बालकृष्णलाई ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो।

ऋषिकेश नै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका पतञ्जलि नेपालका सञ्चालक शालिकराम सिंहले पतञ्जलिलाई समाप्त पार्ने उद्देश्यले आचार्य बालकृष्णलाई निसाना बनाइएको आफूहरूले ठानेको बीबीसीलाई बताए।

उनले भने, "एकजना पूर्वकर्मचारीले कार्यालयमा गएर दिएको पेडा खाएको पन्ध्र मिनेटपछि उहाँले अप्ठेरो महसुस गर्न थाल्नुभयो। हातहरू बाङ्गोटिङ्गो घुमाउन थालेपछि उहाँलाई तत्कालै नजिकै रहेको पतञ्जलिको अस्पतालमा लगियो। त्यहाँ चिकित्सकहरूले खानेकुरा विषाक्त भएको हुनसक्ने भन्दै बान्ता गराए र थप उपचारका लागि एम्स अस्पतालमा लैजान सुझाव दिए।"

"एम्स अस्पतालमा पुग्दा उहाँ मान्छे चिन्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो। आँखा बन्द थिए। सघन उपचार कक्षमा राखेर उपचार गरियो। त्यसपछि एमआरआई सहित विभिन्न जाँच गरियो। दुई दिनसम्म उहाँले खाना पनि खानु भएन। चिकित्सकहरूले बेलैमा अस्पताल ल्याइपुर्‍याइएकाले उहाँलाई निको पार्न सकिएको भनेका छन्।" उनी शनिवार नै अस्पतालबाट फर्किए पनि आइतवारबाट मात्रै उनले नियमित रूपमा खानेकुरा खान थालेको सिंह बताउँछन्।

रामदेवका मित्र

आचार्य बालकृष्णलाई अस्पताल लैजादाँदेखि उनको उपचार चलिरहँदा योगगुरु रामदेव हरपल उनीसँगै थिए। पछिल्लो प्रकरणमा कुनै षड्यन्त्र हुनसक्ने भन्दै उनले स्वास्थ्य प्रतिवेदनका आधारमा प्रहरीमा उजुरी पनि दर्ता गराउन सकिने बताएका छन्। टाइम्स अफ इन्डियामा छापिएको समाचारअनुसार उक्त मिठाईको अवशेष फोरेन्सिक जाँचका लागि दिल्ली पठाइएको छ।

हरिद्वारबाट मङ्गलवार साँझ मात्रै नेपाल फर्किएका पतञ्जलि नेपालका सञ्चालक सिंह आचार्यको स्वास्थ्यमा देखिएको समस्या षड्यन्त्रको हिस्सा भएको ठान्छन्। उनले भने, "चिकित्सकहरूले २०-२५ मिनेट मात्रै उहाँको उपचार नभएको भए उहाँ कोमामा जानुहुन्थ्यो भनेर हामीलाई बताए। भन्नलाई फुड प्वाइजनिङ भनेपनि एकदमै तीक्ष्ण केही कुरा त्यसमा मिसाइएको हुनसक्छ, जसले १० मिनेटमा नै आफ्नो प्रभाव देखाइहाल्यो। तत्कालै पतञ्जलिको अस्पतालमा पुर्‍याउन नसकेको भए उहाँको अवस्था नाजुक हुन्थ्यो।"

"स्वामीजीले यसबारे अनुसन्धान गराउँछु भन्नुभएको छ। तर आचार्यजीले आफैं सुरक्षित रहनुपर्छ छोडिदिऊँ भन्ने खालको धारणा राख्नुभएको छ। उहाँहरू धार्मिक प्रवृत्तिको भएकाले माफी दिऊँ भन्ने खालकै धारणा पाइन्छ। तर मलाई लाग्छ एकदमै नराम्रो उद्देश्य राखेर यो घटना गराइएको थियो तर उहाँ जोगिन सफल हुनुभयो।"

नेपालीका सन्तान, भारतका धनाढ्य

पतञ्जलि आयुर्वेदका संस्थापक अध्यक्ष बालकृष्णका मातापिता नेपाली हुन्। उनीहरू काम गर्न भारत गएका बेला आफू भारतमा जन्मिएको आचार्य बालकृष्णको दाबी छ। पतञ्जलि ट्रस्टका संस्थापक महासचिव रहेका उनले पतञ्जलिमार्फत् उत्पादन हुने आयुर्वेदिक औषधि र दैनिक उपभोग्य सामग्रीसहित सम्पूर्ण व्यावसायिक पक्ष हेर्ने गरेका छन्। फोर्ब्स पत्रिकाले सन् २०१८ मा बालकृष्ण भारतको २५ औँ धनी व्यक्ति रहेको जनाएको थियो।

बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस