aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रवि लामिछानेलाई आफ्नै पार्टीको सभापतिबाट हटाउन उजुरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० मंसिर २०७९
रवि लामिछानेलाई आफ्नै पार्टीको सभापतिबाट हटाउन उजुरी

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट उनैलाई हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । उनलाई पार्टीको नेतृत्वबाट हटाउन माग गरी उजुरी दर्ता भएको हो । 

गैरनेपाली नागरिक लामिछानेले गैरकानूनी ढंगबाट दल दर्ता गरेकोले खारेज गर्नु पर्ने माग गरी युवराज पौडेलले उजुरी दिएका छन् । पौडेलले लामिछानेको नागरिकता गैरकानूनी भएको र यस्तो नागरिकताधारीको नाममा दल दर्ता कायम हुन नसक्ने दाबी गरी आयोगमा निवेदन दिएका हुन् । 

अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग नगरेको र उताको त्याग गरेपछि फेरि पुरानै नागरिकता प्रयोग गरेको आरोप उजुरीमा लगाइएको छ ।

नागरिकताकै विषयमा आयोगले सोधेको स्ष्टीकरणमा लामिछानेले पुरानै नागरिकताबाट पासपोर्ट बनाएको जवाफ दिएपछि उनको नागरिकता विवाद बढेको हो ।

हाल उनको नागरिकताको विषयमा गृह मन्त्रालयले पनि अनुसन्धान गरिरहेको छ । लामिछानेको नागरिकता विवाद प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौंले छानबिन अघि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस