काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । समानुपातिक मतगणनाबाट सबैभन्दा धेरै सिट एमालेले पाउने पक्का भएको छ । एमालेले ३४, कांग्रेसले ३३, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ४ सिट पाउने निश्चित भए पनि आयोगले औपचारिक रूपमा निर्णय गरिसकेको छैन ।
जसअनुसार प्रतिनिधि सभाको २७५ सिट मध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने ११० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् । यस्तै प्रदेशसभामा कुल ५५० सदस्यमध्ये ३३० सदस्य प्रत्यक्ष निर्वाचित हुन्छन् भने २२० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुन्छन् ।
राजनीतिक दलहरूले मतदान भन्दा अगाडि नै निर्वाचन आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित हुने सदस्यहरूको नामावली बुझाउन पर्ने हुन्छ। दलहरूले समानुपातिक प्रणालीमा पाएको मतका आधारमा सिट बाँडफाँड गर्ने गरिन्छ । त्यसरी सिट बाँडफाँड हुनका लागि उनीहरूले खसेको कुल सदर मतको ३ प्रतिशत माथि मत पाएको हुनुपर्छ ।
३ प्रतिशतभन्दा कम आएको समानुपातिक मत खेरै जाने कानूनी व्यवस्था रहेको छ । प्रतिनिधिसभामा समानुपातिक तर्फका ७ वटा दलले राष्ट्रिय पार्टीको मान्यता पाउँदा ४० दललाई मतदाताले दिएको मत खेर जाने भएको छ ।
प्रतिक्रिया दिनुहोस