
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रमुख प्रत्यासी बनेका सागर ढकाल डडेलधुराबाट मोटरसाइकल याात्राद्धारा काठमाडौँ फर्किँदै छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत ढकालले मंगलबार बेलुका यस्तो जानकारी दिएका हुन् ।
डडेलधुराबाट काठमाडौँको लागि यात्रा सुरु गरेको र ८ सय किलोमिटर पार गरेर बुधबार साँझसम्म आइपुग्नेसमेत उनले जनाएका छन् ।
ट्वीटरमा ढकालले लेखेका छन्, ‘डडेल्धुरा देखि काठमाडौँ करिब ८०० किमी पूरै बाइकमा यात्रा सुरु गरेका छौं । भोलि साँझ काठमाडौँ आइपुग्छु । अहिले डडेल्धुराले यो शरिरलाई फलाममा परिणत गरिएिको छ । तीन दिन पुरै पानी र कालो चिया मात्र खाएर जोडले काम पनि गर्न सक्ने बनाएको छ ।’
पेशाले इन्जिनियर ढकाल डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थिए । सुई चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका उनले कांग्रेस सभापति देउवालाई कडा टक्कर दिएका थिए। प्रतिनिधि सभा सदस्यमा भने देउवा निर्वाचित भएका छन् ।
२५ हजार ५ सय ३४ मत ल्याएर देउवा विजयी भएका हुन् । ढकालले १३ हजार ४२ मत ल्याए । झण्डै साढे १२ हजार मतान्तरले देउवा निर्वाचित हुँदा ३१ वर्षीय ढकाल निकटतम् प्रतिस्पर्धी बने । देउवाले गृहजिल्ला डडेलधुराबाट २०४८ देखि योसमेत लगातार सात निर्वाचन जितेर इतिहास रचेका छन् ।
प्रतिक्रिया दिनुहोस