
काठमाडौं । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन भइरहेको छ र यस अवधिमा तीन जना महिलाले अकालमा ज्यान गुमाएका छन् ।
आइतबार काठमाडौँको धुम्बाराहीमा नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपाने जलेर गम्भीर घाइते भइन् । उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भयो । मृतक पुष्पाको गत भदौ १८ गते युवक सुधन सङ्ग्रौलासँग जनैसुपारी सम्पन्न भएको थियो । विवाह गर्ने सहमतिपछि गरिएको जनैसुपारी वर पक्षले एकतर्फी रूपमा तोडेको बताएपछि भएको पुष्पाको मृत्यु रहस्यमय बनेको छ ।
शनिबार वर पक्षले पुष्पाको घरमा पुगेर जनैसुपारी र दक्षिणा फिर्ता गर्दै मगनी तोडिएको घोषणा गरी वधू पक्षबाट उपहारस्वरूप पाएका सामान फिर्ता लिन आउन भनेको थियो । वर पक्षको घरमा पुगेकी पुष्पाको जलेर भएको मृत्युबारे जिल्ला प्रहरी परिसर काठमाडौँले युवक सुधनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिका–३, तोक्माका ३८ वर्षीय अम्मर आलेमगरले मङ्गलबार दिउँसो धारिलो हतियार प्रयोग गरी ३० वर्षीया पत्नी मीना आलेको घाँटी रेटेर हत्या गरेका छन् । आरोपित आलेमगरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित एकल महिला उषा राईको हत्या भएको छ । एक समूहले कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले चार जना महिलालाई पक्राउ गरी सार्वजनिकसमेत गरिसकेको छ ।
कुटपिटबाट गम्भीर घाइते उषाको मङ्सिर १३ गते उपचारकै क्रममा मृत्यु भएको थियो । मृतकका भाइ सुन्दर राईको किटानी जाहेरीपछि धरानस्थित इलाका प्रहरी कार्यालयले ती महिलालाई पक्राउ गरेको र थप आरोपितको खोजी भइरहेको जनाएको छ । पक्राउ पर्नेमा मुख्य आरोपित धरान–१३, सूर्यमार्ग बस्ने ५५ वर्षीया उर्मिला राई रहेकी छिन् । उर्मिलाले आफ्ना पति गोविन्द राईसँग उषा नजिकिएको भन्दै महिलाको समूह बटुलेर गत कात्तिक ३ गते कुटपिट गरेको आरोप लागेको छ । उनलाई मङ्सिर १५ गते पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । कुटपिटपछि घाइते भएकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले सोही वडा बस्ने २६ वर्षीया सुमित्रा राई, धरान–१७ बस्ने २९ वर्षीया सुसेली राई र ४० वर्षीया रत्न लिम्बूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उषाका पतिको मृत्युपछि सिलाइबुनाइ तथा बाख्रापालन गरी दुई छोरीसहित जीविकोपार्जन गर्दै आएकी थिइन् ।
प्रहरीले उक्त घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाको पनि खोजी र अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनामा सिर्जना राई, मीना राई र नीरकुमारी गुरुङको पनि संलग्नता रहेको भन्दै जाहेरी परेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस