aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 
आर्थिक मन्दीको छिमेक प्रभाव

भारतमा गम्भीर आर्थिक मन्दी, कस्तो छ नेपालको बच्ने तयारी ?

  • सीताराम  भट्टराई
    सीताराम भट्टराई
  • विहीबार, १२ भदौ २०७६
भारतमा गम्भीर आर्थिक मन्दी, कस्तो छ नेपालको बच्ने तयारी ?

काठमाडौं । अहिले छिमेकी मुलुक भारत चरम आर्थिक संकटको पूर्वसन्ध्यामा छ । त्यहाँ ठूलो संख्यामा रोजगारी कटौती भएको छ । भारतको अटो सेक्टरमा देखिएको आर्थिक मन्दी निकै तीव्र गतिमा अन्य क्षेत्रमा समेत देखिन थालेको छ । हाल रियल स्टेट, टेलिकम, बैंकिङदेखि लिएर स्टिल, टेक्सटायल लगायतका उद्योगमा समेत आर्थिक मन्दीको लक्षण स्पष्ट रुपमा देखा परिसकेको छ । 

यसरी हाम्रो दैनिक जनजीवनसँग नै प्रत्यक्ष आर्थिक सम्बन्ध जोडिएको छिमेकमा देखा परिसकेको आर्थिक मन्दीको हामीमा के कस्तो असर पर्छ ? के हाम्रो मुलुकमा पनि निकट भविष्य नै आर्थिकमन्दी देखिने सम्भावना छ ? भन्नेबारे नेपालले खासै चासो दिएको जस्तो देखिँदैन जुन वास्तवमा जरुरी छ ।  यदी हाम्रो मुलुकमा यहीबेला कुनै एक क्षेत्रमा आर्थिक मन्दी शुरु हुने हो भने त्योसँग मात्र जुध्ने आर्थिक आधारसमेत हामीसँग छैन । त्यसैले पनि दक्षिणको बाछिटा आउनु पूर्व नै सावधानी अपनाउनुपर्ने हुन्छ ।  

भारतमा देखिएको आर्थिक मन्दीको खास कारण के हो ? हाल भारतको आर्थिक अवस्था र हाम्रो आर्थिक प्रणाली तथा अवस्थामा के कस्तो फरक छ ? लगायतका केही प्रश्नको जवाफ खोज्ने हो भने हामीलाई अहिले नै आर्थिक मन्दीले सताउने स्थिति छ या छैन भन्ने आंकलन गर्न सकिन्छ ।  

कसरी देखियो आर्थिक मन्दीको लक्षण ? 
भारतमा आर्थिक मन्दी आउँदै गरेको संकेतका रुपमा सुनको आयातमा कमि देखियो ।  सन् २०१९ को अप्रिलदेखि जुन महिनाबीच सुनको आयातमा एक्कासी कमि आयो । अघिल्लो महिनाको सोही अवधिको तुलनामा ५.३ प्रतिशतको यो गिरावट नै भारतमा आर्थिक मन्दीको पहिलो सूचक थियो किनकी सन् २०१८ को त्यो अवधिमा २०१७ को तुलनामा सुनको आयात ६.३ प्रतिशतले बढेको थियो । त्यो बाहेक पुँजी बजारमा लगानी घट्यो भने औद्योगिक उत्पादनमा समेत कटौती हुन पुग्यो ।

अटोमोबाइल्स क्षेत्रमा पहिलोपटक यसको प्रत्यक्ष असर देखिँदा लाखौंको संख्यामा रोजगारीहरु गुम्न पुग्यो । त्यसपछि कृषिजन्य उद्योगसमेत प्रभावित भएको देखियो । कपडा उद्योगमा आर्थिक मन्दीले छुँदा धागो उद्योग र कपास खेतीमा असर देखा पर्यो । यसरी हाल मन्दीको प्रभावले घरजग्गा, टेलिकम, बैंकिङलगायतका क्षेत्रमा नकारात्मक नतिजा दिन थालिसकेको छ । 

किन शुरु भयो आर्थिक मन्दी 
भारतमा आर्थिक मन्दीको पहिलो कारण त अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको मूल्य वृद्धि नै हो । जसले गर्दा महँगी बढ्यो । अर्को कारण डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुनु हो । आयातको तुलनामा निर्यातमा कमि आउँदा विदेशी मुद्राको सञ्चिति घट्यो त्यो अर्को महत्वपूर्ण कारणका रुपमा देखियो । अन्तर्राष्ट्रिय अर्थ राजनीति अर्को प्रमुख कारण हो भारतमा आर्थिक मन्दी शुरु हुनुमा । एउटा उदयमान अर्थतन्त्र भएको नाताले हाल अमेरिका र चीनबीच जारी व्यापार युद्धको विश्वव्यापी प्रभावबाट भारत अछुतो रहने कुरै थिएन । त्यसको नकारात्मक असर भारतमा केही बढी देखिएको पनि हो ।

यी बाह्य कारण बाहेक मोदी सरकारले अवलम्बन गरेको नोटबन्दीको असर अहिले देखिएको आर्थिक विश्लेषकहरुको भनाइ छ ।  उनीहरुको तर्क के छ भने एकीकृत कर प्रणाली (जीएसटी) ले गर्दा लघुउद्यममा समेत ठूला उद्योगकै शैलीमा मन्दी देखिएको छ । यस कारण आन्तरिक अर्थराजनीतिका जानकारहरु भारतमा देखिएको आर्थिक मन्दीको प्रमुख कारण मोदी सरकारका गलत कदम र अर्थनीति हुन् भन्ने तर्क राखेका छन् । 

औद्योगिक क्षेत्रमा आएको गिरावट, माग र आपूर्तिबीच लागातार कम हुँदै गएको अन्तर र लगानीमा आएको सामान्य कमीले समेत भारत गम्भीर संकटतर्फ बढेको देखिन्छ ।

उताको संकट यता आउला ?
भारतमा देखिएको आर्थिक संकटले नेपाललाई पनि तुरुन्तै गाँज्ने अवस्था देखिन्छ । त्यसको पहिलो कारण त नेपाल र भारतबीच रहेको अनौपचारिक आर्थिक सम्बन्धसमेत हो । त्यसबाहेक नेपाली रुपैयाँ र भारतीय मुद्राबीच रहेको स्थिर विनिमय दरको कारण समेत हामीलाई भारतको बाछिटोले तुरुन्तै भिजाउने सम्भावना ज्यादा छ । 

यसबाहेक भारत जुन स्थितिमा छ नेपालको आर्थिक जग त्यतिको बलियो समेत नभएको हुनाले हामीलाई मन्दीले सजिलै र गहिरोसँग समात्न सक्छ । नेपालका कलकारखानाहरु अनेकौं कारणले बन्द हुने क्रम जारी छ । आयातमा भएको वृद्धिले शोधान्तर घाटा बढ्दो छ । बजारमा मूल्यवृद्धि यति चर्को छ कि आम मानिसको क्रयशक्ति दिन प्रतिदिन घट्दो छ । 

नेपालमा पनि आर्थिक मन्दीका केही लक्षणहरु देखिसकेका छन् । पुँजी बजारमा लगानीकर्ताको अभाव छ । घरजग्गा कारोबारमा समेत उत्साह देखिएको छैन । सरकारले विभिन्न कर कडाइका साथ असुली गर्न थालेपछि भारतीय व्यापारी नेपालबाट पुँजी पलायन गराउने सोचमा पुगेको चर्चा व्यापक रुपमा सुनिन थालेको छ । नेपालको कृषि क्षेत्रले जुन गतिमा विकास गर्नुपर्ने थियो त्यो भएको छैन । समग्रमा भन्दा भारतको आर्थिक मन्दीले दशगजा नाघ्ने सम्भावना अत्यन्तै प्रवल छ । यदी त्यसो भएमा हामी भारतभन्दा बढी दलदलमा फस्ने पक्का छ ।

नेपालमा आर्थिक वर्षको शुरुवातमै बैंकमा पैसा छैन भन्ने समाचार सार्वजनिक भइसकेको अवस्था छ । यस्तो अवस्थामा उद्योग धन्दामा बैंकले लगानी गर्न सक्ने स्थिति रहँदैन । उता, राष्ट्र बैंकको भण्डारमा विदेशी मुद्राको सञ्चिति घट्ने क्रम जारी छ । विदेशी मुद्रा सञ्चिति घट्यो भनेर चिन्ता सार्वजनिक भएको पृष्ठभूमिमा नेपालको आर्थिक सूचकांकहरु सकारात्मक छन् भन्न सक्ने अवस्था छैन । यसरी हेर्दा आर्थिक मन्दी हाम्रो पनि नियति बन्दैछ ।

के गर्दैछ भारत, त्यो सम्भव छ नेपालमा ?
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बजारमा देखिएको आर्थिक मन्दी हटाउन र अर्थ व्यवस्थालाई बलियो पार्नका लागि विभिन्न क्षेत्र, उद्योग र सर्वसाधारणका लागि राहत प्याकेज ल्याउने घोषणा गरिसकेकी छिन् । भारत सरकारले विपक्षीको कडा विरोधका बाबजुद केन्द्रीय बैंकबाट १.७६ लाख करोड लिने तयारी गरेको छ । 

भारत सरकारले जसरी ठूलो रकम केन्द्रीय बैंकबाट लिएर जनतालाई राहत दिने तयारी गरेको छ त्यो स्थिति नेपालमा छैन । हाम्रो देशमा यदी मन्दीको शुरुवात मात्र भयो भने पनि मनोबैज्ञानिक प्रभाव यति धेरै हुन्छ कि त्यो हटाउन समेत निकै गाह्रो पर्छ । सरकार विरोधी जनलहर निकै बलियो बन्दै गएको अवस्थामा आर्थिक मन्दीको स्थिति देखा पर्यो भने त्यसले दुई तिहाईलाई समेत नराम्ररी हल्लाउने निश्चित छ ।

त्यसैले नेपाल सरकारले दक्षिणमा पानी पर्यो भन्ने देखिसकेपछि आफूले पनि छाताको तयारी गर्नुपर्ने देखिन्छ । छिमेकमा कालो बादल  मडारिएको देख्दादेख्दै अनदेखा गरियो भने त्यसको परिणाम राम्रो नहुने पक्का छ । नेपालका नीति निर्माता त असफलसिद्ध हुन्छन् नै जनताले समेत नसोचेको दुःख पाउने अवस्था आउन सक्छ ।
 

प्रतिक्रिया दिनुहोस