aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

'कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ मंसिर २०७९
'कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ'

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएको छ । विराटनगरमा आज अपराह्न सञ्चारकर्मीहरूसँगको भेटमा विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उनले स्थिर सरकारले मात्र देशमा समृद्धि आउने कुरामा जोड दिए । उनले २०४७ सालको उत्कृष्ट संविधान भएर पनि राजनीतिक अस्थिरताले गर्दा असफल भएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुपर्ने आफ्नो चाहना रहेको बताए । 
    
पाँच वर्ष सरकार निर्वाधरूपमा सञ्चालन भए हरेक समस्या समाधान हुँदै जाने भन्दै पूर्वउप्रधानमन्त्री गच्छदारले भन्नुभयो, “वर्तमान संविधान जारी गर्न मेरो पनि अहम भूमिका रहेकाले यो संविधानलाई दीगो र बलियो बनाउन स्थिर सरकार आवश्यक छ ।”

अहिले पनि गठबन्धनको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको उनको भनाइ थियो । उनले भने, “निर्वाचनमा जित र हार स्वाभाविक हो, मैले सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्राविधिकरूपमा पराजित भए पनि जनताको मनमस्तिष्कबाट पराजित भएको छैन ।” नेतृत्व हस्तान्तरण एवं परिवर्तन प्राकृतिक कुरा हो भन्दै नेता गच्छदारले जनताले आफूलाई न्याय गरेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस