
काठमाडौं । साँफेबगर नगरपालिका–१२ खप्तड पुत्रु गाउँ अछामकी मनादेवी रावल ७६ वर्षकी भइन् । १७ जनालाई जन्म दिएकी उनलाई घरायसी काम त छँदै छ, उकालो–ओरालो गर्न यो उमेरमा पनि असहज छैन । मधुमेह र रक्तचाप जस्ता रोगले छोएको छैन । बिरामी भएर आजसम्म अस्पताल नपुगेको उनी सुनाउँछिन् । उमेरसँगै आँखा भने कमजोर हुन थालेका छन् ।
१७ सन्तानलाई जन्मदिएर पनि यति स्वस्थ्य रहनुमा आफ्नो आत्मबल र खानपान नै हो भन्छिन् उनी ।
उनको बिहे १३ वर्षमा भएको थियो । १५ वर्षमा पहिलो बच्चा जन्माइन्। उनले अन्तिम बच्चा ४३ वर्षको उमेरमा जन्माएको सुनाउँछिन् । जन्मिएका १७ मध्ये ५ मात्रै जीवित छन् । अहिले ४ छोरा र एक छोरीबाट नातिनातिनीहरू छन्। नातिबाट उनले पनाति पनि देखिसकिन् । ‘छोराको आसमी मस्तै जत्काल बस्या,’ उनले भनिन्, ‘१२ त खड गया (१२ जना मरे) । छोरी १० हुन् म¥याकी (छोरी मात्रै १० मरे)। २ छोरा छिया (मरेका २ छोरा थिए) । संसार देख्ने भाग्य भएका जति बाँचे अरू खेर गए ।’
छोरी मात्र जन्मिन थालेपछि मनाका श्रीमानले दोस्रो विवाह ग रे। कान्छीबाट दुई छोरा जन्मिएका उनले बताइन् । अहिले उनका श्रीमान् बितेको दुई वर्ष भयो । बिहे हुदाँको समय त्यति राम्रोसँग याद पनि छैन उनलाई । ‘त्यो उमेरमा बिहे के हो, जिम्मेवारी के हो ? भन्ने नै थाहै थिएन’, मनाले भनिन् ।
बिहेको दिन घर भित्र्याउँदा काँधमा चढाएर दैलोमा टिका लगाउँदा निकै ठूलो आवाजमा हाँसेको उनलाई राम्रोसँग याद छ । उनले हाँस्दै भनिन्, ‘नानी छिया म, देलामा पुग्यान । टीको लाउनपछि मुलाई उच्चाइकन टीका लगाया (म सानी थिए, बिहे गरेर दैलोमा पुगे, मलाई काखी लगाएर टीको लगाएका हुन्) ।’ उनले सबै बच्चा मेलापात घाँस दाउरा गर्ने बेला जन्माएकी हुन् । भारी बोक्दै गर्दा बच्चा जन्माइन् । ‘अहिले पनि केही कमजोर छैन’, उनले भनिन्, ‘दुःख धेरै पाएँ । आजकालका जस्ता लुगा हुँदैनथे, बोराको थाङ्नामा बेरेर बच्चालाई न्यानो पारिन्थ्यो ।’
उनले अहिलेका आमालाई बच्चा पाउन धेरै सजिलो भएको सुनाइन् । ‘अहिले बेला–बेलामा बच्चा र आमाको स्वास्थ अवस्था जाँच गराउन जान्छन् । अस्पतालमै बच्चा जन्मिछन् । त्यहीं लुगा पाउँछन् । अहिले त धेरै सुबिधा छ’, मनाले भनिन् । अहिले उनकी बुहारी, नातिने बुहारी सबैले स्वास्थचौकीमा बच्चा पाएको उनले बताइ न्।
प्रतिक्रिया दिनुहोस