काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा प्रवेश गर्ने प्रयास गरेपछि बुधबारबाट शुरु भएको विवाद शुक्रबार पनि जारी रहने भएको छ । संघीय संसद सचिवालयका महासचिवले राणाको निलम्बन निश्क्रिय भएको पत्र दिएपछि भएको विवादले उग्ररुप लिएपछि सर्वोच्च छिर्न खोजेका जबरालाई रोक्न वकिलहरुले आज पनि धर्ना दिने भएका छन् ।
जबराविरुद्ध महाभियोग दर्ता, प्रतिनिधिसभामा छलफल, त्यसपछि महाभियोग समितिबाट पारित र प्रतिवेदनलाई नयाँ प्रतिनिधिसभामा पेस गर्न सभामुखले दिएको तोकादेशलाई निष्क्रिय पार्ने गरी संसद् सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले बुधबार जबरालाई निलम्बन निष्क्रियको पत्र दिएपछि बुधबार दिनभर सर्वोच्च अदालत प्रभावित भयो । बिहीबार सार्वजनिक बिदा परेकाकोले आज त्यसको सम्भावित परिदृश्य देखिने भएको हो ।
नेपाल बार एसोसिएसनले जबराविरुद्धको आन्दोलन ब्युँताएको छ । जबराको राजीनामा माग्दै गत वर्ष कात्तिक दोस्रो सातादेखि आन्दोलित बारले फागुन १ मा उनीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि १०९ औं दिनमा आन्दोलन रोकेको थियो । संसद् सचिवालयका महासचिव गौतमको पत्रले नयाँ परिस्थिति उत्पन्न गराएको भन्दै नेपाल बारले यही मंसिर २४ मा पोखरामा तय गरेको ४८ औं केन्द्रीय कार्यकारिणी बैठक स्थगित गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस