काठमाडौं । पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा भएको आगलागीबाट ४० लाख रुपैयाँ भन्दाबढीको धनमाल जलेर नष्ट भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको कोन्ज्योसोम गाउँपालिका २ संखु खरीडांडा बस्ने कृष्ण प्रसाद घिमिरेको गोठमा विद्युतको तार सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा गोठ र गोठमा रहेको काठपात, मकै लगायतको सरसामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै, गोरखा, गण्डकी गाउँपालिका ८ चुल्ठेभिरस्थित सडकमा काठमाडौंबाट फुजेलतर्फ जाँदै गरेको बा।१६ च ७५४० नम्बरको स्कारपियो गाडीमा बिहीबार दिउँसो आगलागी हुँदा गाडी पूर्णरुपमा जलेर क्षति भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका २ अरनिकोबस्तीस्थित सडकमा बेलौरीबाट आईबिआरडीतर्फ जाँदै गरेको से।२ प ६४८२ नम्बरको मोटरसाइकलमा बिहीबार साँझ आगलागी हुँदा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
त्यसैगरी, झापाको बुद्धशान्ति गाउँपालिका १ पुलचोक बस्ने नारायण कडेरियाको हार्डवेयर पसलमा बिहीबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
पर्साको वीरगंज महानगरपालिका १५ भिष्वाडाँडास्थित सडकमा गुडिरहेको बा१८ च ४६०४ नम्बरको टाटा पिकअप गाडीमा ईन्जिनबाट एक्कासी आगो सल्कन गई गएराति आगलागी हुँदा गाडी पूर्णरूपमा जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यसैगरी, बाजुराको बडिमालिका नगरपालिका६ जडङ्गा बस्ने तुले कार्कीको घर नजिकै रहेको कुखुरा फर्मभित्र हिटर सर्ट भई गएराति आगलागी हुँदा फर्म र फर्ममा रहेका ९ सय ८० वटा कुखुरा, दाना लगायतको सरसामान जलेर करिब ९ लाख ८८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस