
काठमाडौं । रोमाञ्चक र नाटकीय खेलको टाइब्रेकरमा नेदरल्यान्ड्सलाई ४(३ गोलले स्तब्ध बनाउँदै अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लुसेल आइकोनिक स्टेडियममा शुक्रबार राति भएको निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा अर्जेन्टिनाले बाजी मारेको हो ।
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना अन्तिममा दबाबमा परेकोे थियो । दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गरेको नेदरल्यान्ड्सले दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । यद्यपी टाइब्रेकरमा पुगेर नेदरल्यान्ड्स अभागी ठहरियो ।
निकै रोमाञ्चक खेलको निर्धारित समयमा अर्जेन्टिनाका लागि नाहुयल मोलिना र कप्तान लियोनल मेस्सीले गोल गरे । नेदरल्यान्ड्सका लागि दुवै गोल वोउट वेगहस्र्टले फर्काएका थिए ।
मेलिनाले ३५औं मिनेटमा खाता खोलेका थिए । मेस्सीले डिबक्स मित्र मिलाईदिएको आकर्षक पासलाई मेलिनाले वान भर्सेस वानमा गोल गरेका थिए । त्यसपछि मेस्सीले ७३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
नेदरल्यान्डका डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । जसलाई मेस्सीले सदुपयोग गर्नुभयो । पाँचौं पटक विश्वकप खेलिरहनुभएका मेस्सीको विश्वकपमा १०औं गोल हो । उनले टाइब्रेकरको समेत जोड्दा ११औं गोल गरेका थिए ।
त्यसपछि ८३औं मिनेटमा नेदरल्यान्ड्सले गोल गर्दै खेलमा फर्कियो । वेगहस्र्टले स्टिभन बर्घाउसको पासमा गोल गर्दै नेदरल्यान्ड्सको आशा जगाए । दोस्रो हाफको इन्जुरी समयको अन्तिममा वेगहस्र्टले डिबक्स छेउ पाएको फ्रिकिकमा गोल गर्दै खेललाई बरबरीमा ल्याएका थिए ।
पहिलो हाफमा पकट जमाएको अर्जेन्टिनाले दोस्रो हाफको अन्तिममा लय गुमाएको थियो । निर्धारित समयको अन्तिममा जोसिएको नेदरल्यान्ड्सले लगातार दुई गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेको थियो । अतिरिक्त समयमा समेत बराबरीमा सकिएपछि टाइब्रेकमा पुगेर अर्जेन्टिनाले बाजी मारेको हो ।
टाइब्रेकमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लौटारो मार्टिनेजले गोल गर्नुभयो । एन्जो फर्नान्डेजको प्रहार बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस