
काठमाडौं । नेपाली समाजमा अनेक थरीका जाति, भाषा, चाडपर्व, रीतिरिवाज, विश्वासहरू प्रचलनमा रहेका छन् । नेपाली समाजमा वर्णव्यवस्था मान्ने ब्राह्मण–छेत्रीका साथै वर्णव्यवस्था नमान्ने गुरुङ, मगर, सेर्पा, तामाङलगायतका अनकौंँ जातजातिहरूको बसोबास रहेको पाइन्छ । त्यसैगरी समाजमा दलितका रूपमा अपहेलित भएर जीवनयापन गर्ने समुदायको समेत बसोबास रहेको पाइन्छ ।
नेपालमा जातजातिप्रथा कहिलेदेखि सुरुवात भयो भन्ने कुराको प्रामाणिक निष्कर्ष हालसम्मका अध्ययनले निकाल्न सकेको पाइँदैन । तैत्तिरीय ब्राह्मण ग्रन्थमा ब्राह्मणलाई दैवी वर्ण र शूद्रलाई असूर्य वर्ण भनिएको छ । इसा पूर्व १८५ तिर आचार्य मनुले आफ्नो ग्रन्थ ‘मनुस्मृति’ मा शूद्र जातिलाई दमन गर्ने उद्देश्यले विभिन्न व्यवस्थाहरू बनाएका थिए । यही ग्रन्थलाई आधार मानेर समाजमा छुवाछुत प्रथाको आरम्भ भएको मानिन्छ । मनुस्मृतिले ब्राह्मणहरूलाई माथिल्लो दर्जामा र शूद्रलाई निम्न दर्जामा राखेको छ ।
नेपालमा प्राचीन काल अथवा किरातहरूको शासन कालसम्म पनि जातीय छुवाछुत प्रथाको सुुरुवात भएको थिएन । भेडा, बाख्रा, गाई, भैंसी आदि जनावर पाल्नलाई प्राथमिकता दिने किरातीहरूले भारततर्फ ऊनी, कपडा, राडी, पाखी तथा जडीबुटी निर्यात गर्दथे । किरातकालमा मुख्य पेसाका रूपमा खेती र पशुपालन रहेको र साथै केही उद्योगधन्दा तथा व्यापारको पनि विकास भएको देखिन्छ । नेपालमा उत्पादित ऊनको राडी, पाखी भारतीय बजारमा समेत बिक्री भएको कुरा भारतका प्राचीन राजनीतिज्ञ तथा अर्थशास्त्री कौटिल्यले आफ्नो अर्थशास्त्रमा उल्लेख गरेबाट पनि यो कुरा प्रस्ट हुन्छ । त्यतिबेला समाजमा जातपातका आधारमा कामको बाँडफाँड भइसकेको थिएन । जुत्ता तथा लुगा सिउने, आरन चलाउने आदि सबै काम किरातीहरू आफैले नै गर्थे। यो प्रथा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गरिसकेपछि पनि किरातीहरूको क्षेत्रमा कायम नै थियो ।
नेपालको पहाडी क्षेत्रमा किरातहरूले राज्य गरिरहँदा तराई भेगमा लिच्छवि, मल्ल, शाक्य आदिको राज्य थियो । पछि मुसलमानहरूको आक्रमणबाट ती हिन्दू राजाहरू त्यहाँ टिक्न नसकेर नेपालको पहाडी क्षेत्रमा भागेर आए । त्यसरी भागेर आएका लिच्छविहरूले नेपालका किरातहरूलाई हराई आफ्नो सत्ता सन् ११० तिर कायम गरे । त्यति बेला नेपालको वर्ण व्यवस्था पनि भारतको जस्तै पेसामा आधारित हुन थालेको थियो ।
जातका आधारमा खानपान रहनसहन आदिमा भिन्नता गरिएको थियो । लिच्छवी शिलालेखअनुसार त्यस समयमा समाजमा अठार जात थिए । लिच्छवी शासनकालमा जातअनुसार सबैले आआफ्नो पेसा गर्नै पथ्र्यो । कसैले आफ्नो पेसा छोडेर अर्को पेसामा लाग्न पाइँदैनथ्यो। कसैले प्रचलित जातीय मर्यादा पालन नगरेमा ऊ दण्डित हुन्थ्यो । कुनै पनि जातिले आफ्नोबाहेक अर्को जातिमा बिहे गर्न पाउँदैन्थ्यो । जातीय मर्यादा पालन नगरेका व्यक्तिको जात घटाइन्थ्यो । शूद्र जातिले सुन र चाँदीका गहना लगाउन पाउँदैनथे । यसरी लिच्छविहरू भारतबाट आएकाले भारतकै मनुस्मृतिका आधरित वर्ण व्यवस्था उनीहरूले लागु गरे र त्यति बेलादेखि नेपालमा जातजाति वा दलित जातिको उदय भयो ।
लिच्छविकालपछि नेपालमा मल्लकालको सुरुवात भयो । मल्लकालमा जाति प्रथाले अझ चरम रूप लिएको थियो । मल्ल राजा जयस्थिति मल्लले छिन्नभिन्न भैसकेको नेपालको वर्ण व्यवस्थालाई फेरि पुनर्गठन गरेर समाजलाई चार वर्ण ३६ जातमा विभाजन गरे ९आचार्य, २०५१, पृ. २३० । चार वर्णमा ब्राह्मण, छेत्री, वैश्य र र शूद्र पर्थे। उनले नेपाल उपत्यकाका नेवारहरूलाई समेत ४ वर्ण र ६४ जातमा विभाजित गरे । नेवारहरूमध्ये पनि आचार्य, वैध, श्रेष्ठ र दैवज्ञलाई माथिल्लो जातमा राखियो। पोडे, चारमका आदि जातिलाई पानी नचल्ने जातमा राखियो ।
प्रतिक्रिया दिनुहोस